काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका छन् । आन्दोलित विद्यार्थी र प्रहरीबीच केहीबेर बालुवाटारमा झडप समेत भएको छ । विवादित गभर्नर अधिकारीको राजीनामा माग गर्दै आइतबार बालुवाटारस्थित नेपाल रास्ट्र बैंकको गेटमा घेराउ गर्न पुगेका सत्तारुढ दल नेपाली कांग्रेस र माओबादी केन्द्र निकट नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
उनीहरुले निषेधित क्षेत्र तोडेपछि सामान्य झडप भएको हो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरुमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने उद्देश्यले प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना सुरु भएको हो ।
अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्तिमात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएको खुलेको भएको भन्दै युवा विद्यार्थी संगठनहरुले विरोधलाई जारी राखेका छन् । उक्त विरोधमा विद्यार्थी नेताहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपुर्ण रुपमा प्रदर्शन गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनले अर्कों रुप लिएको हो । प्रहरीको हस्तक्षेपका कारण केही विद्यार्थी नेताहरुको लुगा समेत च्यातिएको छ । आक्रोशित विद्यार्थीहरुको प्रदर्शनलाई प्रहरीले नै उग्र बनाएको विद्यार्थीहरु नेताहरुको भनाई छ ।






