काठमाण्डौ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन् । यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको टिप्पणी गरे ।
नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिक कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएका उल्लेख गर्दै राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जाडिएर आउने गरेको बताए ।
अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उनको भनाइ थियो । मुलुकको सार्वभौमिकताको रक्षा गर्न पनि भूराजनीतिकले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढनुपर्ने अध्यक्ष यादवले बताए । यो समाचार आजको शिलापत्रमा छ ।






