बाँके । बाँकेको तीन वटा निर्वाचन क्षेत्र र बर्दियाको २ वटा निर्वाचन क्षेत्रमा पक्की सडक निर्माण कार्य शुरु भएको छ । वर्षाका कारण अहिलेसम्म जम्मा ५ देखि ७ प्रतिशत मात्र काम भएको डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ । बहुबर्षिय योजना अन्तर्गत बाँकेको ३० किलोमिटर सडकका निर्माणका लागि ७५ करोड रुपैयाँ योजना कार्यान्वयन सुरु भएको छ भने बर्दियाको २५ किलोमिटर सडक निर्माणकालागी ८० करोड रुपैयाँ योजना कार्यान्वयन शुरु भएको डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले बताए ।
बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा ३० किलोमिटर सडक निर्माणका लागि ठेक्का लागि सकेको कार्यालय प्रमुख एसीले बताएका छन् । उनका अनुसार डिभिजन सडक कार्यालय नेपालगन्जमार्फत बाँके र बर्दियामा गरी लगभग २ अर्बको सडक बन्ने बताईएको छ । बाँके क्षेत्र नं. ३ को गणेशमानचोक–गौघाट–परसपुर सडक खण्ड १० किलोमिटर नाली सहित कालोपत्रेका लागि टेण्डर भई सकेको छ ।
सडक खण्ड नाली सहित १२ मिटरको बन्नेछ । जसमा प्रिमिक्स कालोपत्रे ७ मिटरको हुनेछ । बाँके क्षेत्र नं. १ अन्तर्गत अगैयादेखि नरैनापुर जोड्ने १६ किलोमिटर सडकखण्डको १० किलोमिटर सडकको पनि ठेक्का भैसकेको डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ । बाँके क्षेत्र नं. २ डुडुवादेखि एयरपोर्ट जोड्ने १० किलोमिटर सडकका लागि पनि २५ करोड बजेट रहेको छ ।

उक्त सडक खण्डको ठेक्का भैसकेको र निर्माण कार्य सुरु भएको डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख एसीले जनाकारी दिएका छन् । बाँके र बर्दियाको सडक योजना तयार भएपछि यी दुई जिल्ला जोड्ने बैकल्पिक राजमार्ग बन्नेछ र नेपालगन्जबाट बर्दिया गुलरिया हुँदै राजापुर–टिकापुर कैलालीतिर जाने हुलाकी राजमार्गसंगै कोहलपुर हुँदै बर्दिया–पश्चिम तर्फको पूर्व पश्चिम राजमार्गले जोडेको दुई जिल्लाको स्तरीय सडकमार्गलाई नेपालगन्ज–परसपुर–गौघाट हुँदै बर्दिया बढैयागाउँपालिका हुँदै गुलरिया सडक जोड्ने नयाँ बाटो बन्नेछ ।
यसरी जोडिने यी भित्री सडक मार्गले दुई जिल्ला बीचको सम्बन्ध समेतलाई हरेक क्षेत्रबाट नजिक ल्याउने र त्यसमा पनि व्यापारीक हिसाबले अझैं फाईदा पुग्ने विश्वास गरिएको छ । बर्दियाको क्षेत्र नं. २ मा १५ किलोमिटर सडकका लागि ४० करोड बजेट छ भने क्षेत्र नं. १ को लागी पनि ४० करोड नै बजेट रहेको छ । बहुबर्षिय योजनामा निर्माण हुने सडकखण्डा घोरपिट्टा–बनियाभारको हो । बर्दिया क्षेत्र नं. २ को सडक ३३ महिना भित्र बनाइसक्ने लक्ष्य राखिएको छ । त्यस्तै, बर्दियाको पञ्चबजार–फुटाहा–जमुनी गौघाट सडक पनि बन्ने भएको छ ।






