रुपन्देही । एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले लुम्बिनी प्रदेश अध्यक्षको पदबाट सहरी विकास मन्त्री मेटमणी चौधरीलाई हटाएका छन् । एक व्यक्ति एक पदको कार्यान्वयन गर्ने भन्दै चौधरीलाई अध्यक्ष पदबाट मन्त्री भएको २ हप्ता नबित्दै पार्टी अध्यक्ष नेपालले हटाएका हुन् । मन्त्री चौधरीको ठाउँमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी सहरी विकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरिएको बताइएको छ । पार्टीले केन्द्र र प्रदेश कमिटीमा रहेका केही नेताको भूमिका समेत हेरफेर गरेको छ । प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् ।
बैठकले प्रदेश अध्यक्षमा मेटमणिलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई अध्यक्षमा बनाएका छन् । पार्टी संगठनमा बढी सक्रिय देखिएका चौधरीलाई हटाएर पाण्डेलाई ल्याइएपछि माधव नेपाललाई परिवारवादको आरोप लागेको छ । संघीय सांसदसमेत नेपालका सम्धी पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णयको आलोचना भएको हो ।
रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् । विक यसअघि जिल्ला सचिव रहेका थिए । रुपन्देही उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराईले लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि पार्टीको जिम्मेवारी छोडेका छन् । उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीश, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन भएका छन् ।






