नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणकालागी पहल गरिने बताएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका १५ वटा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुलाई बुधबार कार्यालयमा बोलाएर नगर प्रमुख विष्टले जेष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
उनले जेष्ठ नागरिकहरु चर्को गर्मी र चिसो मौसममा घण्टौंसम्म लामवद्ध हुँदा एकातिर सास्ती पाएको र अर्कोतर्फ बैंकको सेवा पनि प्रभावित हुने गरेको भन्दै वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आग्रह गरेका थिए । नगरसँग पछि गाभिएका वडा नम्बर १३ देखि २३ वडासम्म पहिलो चरणमा कम्तिमा घुम्ती शिविर भएपनि सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाटै गर्नका लागि आवश्यक सहयोग उपमहानगरपालिका र वडा कार्यालयले गर्ने विश्वास दिएका थिए ।
आगामी आवदेखि वडाभित्र रहेको बैंकलाई नै सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्राथमिकता दिइने भन्दै नगर प्रमुख विष्टले नगरका सम्पूर्ण वडामा बैंक पुगोस भन्ने चाहना रहेको र त्यसका लागि आवश्यक सहयोग र सहजिकरण गर्न तयार रहेको बताए । वडा कार्यालयबाट घरदैलोमै बैंकिंग सेवा दिने तर त्यसलाई निरन्तर गर्नुपर्ने पक्षमा आफु रहेको उनको भनाई छ । सो अवसरमा उपप्रमुख कमरुद्धिन राईले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक तथा वित्तिय संस्थालाई उपमहानगरपालिकाबाट आवश्यक सहयोग गरिने बताए ।
सो अवसरमा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफुहरु सकारात्मक रहेको बताएका थिए । यसका लागि केन्द्रीय कार्यालयबाट अनुमति लिने प्रक्रिया तत्काल सुरु गर्ने उनीहरुले बता बैंकदेखि वडा कार्यालयसम्म रकम लिदा त्यसको सुरक्षा, विमा, पहिचानमा कठिनाई जस्ता समस्यातर्फ ध्यानाकर्षण गराएका थिए ।






