काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान दल घोषणा भएको छैठौं दिनमै सचिवालय सदस्य युवराज सफलले राजीनामा दिएका छन् । एकता अभियानको यही अषाढ ११ गते सम्पन्न दोश्रो राष्ट्रिय भेलाबाट सचिवालय सदस्य बनेका उनले १६ गते नै नेकपा एकता राष्ट्रिय अभियान दलबाट राजीनामा दिएका हुन् । उनको राजीनामालाई संयोजक बामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भएर नै स्वीकृत गरिएको दलका सचिव डिबी कार्कीले जानकारी दिए ।
दल दर्ता भएको हप्ता दिन नबित्दै उनले ४ बुँदे माग सहीत राजीनामा दिएका छन् । अभियानको केन्द्रिय समितिमा वरियातालाई ध्यान दिनु पर्ने, ६ सदस्यीय वार्ता टोलीलाई क्रियाशिल गराई वार्ताका कार्यहरु आरम्भ गर्नु पर्ने, अन्य राजनीतिक पार्टी तथा समुहहरु एकता प्रकृयामा सामेल हुन चाहेकोले सो पार्टी तथा समुहलाई एकता प्रकृयामा ल्याउन पर्ने लगाएतका विषयमा उनले माग गरेको राजीनामा पत्रमा उल्लेख छ । विभिन्न माग सहीत राजीनामा दिएर बामदेवको एकता अभियानबाट बाहीरिएका युवराजले ३ दिनपनि गलत प्रचार गरेर बामदेवको बदनाम गर्न खोजेको र एकताको विरोधी उनी आफै नै भएको सचिव कार्कीले बताए ।
सचिव कार्कीका अनुसार उनको राजीनामाको विषयमा सचिवालयमा छलफल गरिएको थियो । छलफल पश्चात राजीनामा स्वीकृत गरिएको तर हाललाई राजीनामा स्वीकृत गरेर उहाँसंग संयोजक कमरेडले कुरा गर्ने र अर्को बैठमा आवश्यक निर्णय गर्ने (केन्द्रिय समितिमा रहने वा नरहने) भन्ने विषयमा छलफल बाँकी नै थियो । कार्कीले भने,‘छलफलबाट आएको निष्कर्श अनुसार संयोजक कमरेडले राजीनामा स्वकार गर्नु भयो र केन्द्रिय समितिबाट पनि हटाम त भन्दा युवराज कमरेडले नहटाउनुस् भन्नु भयो ।’ सचिवालयको निर्णय नं. २ मा युवराज सफलको राजीनामा सम्बन्धमा बैठकमा छलफल भएको थियो । युवराज आफैंले राजीनामा दिएका हुन् ।






