काठमाण्डौ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम यतिबेला बाम तालमेलकालागी अग्रसर देखिएका छन् । स्थानिय निर्वाचनको मत परिणाम हेरीसकेपछि संयोजक गौतम बाम तालमेलकालागी फेरी एक पटक अग्रसर देखिएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिन आग्रह गरेका छन् । तत्कालिन नेकपा जोड्ने अभियानमा लागेका गौतम पार्टी निर्णय भएपछि पहिलो पटक ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
‘तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकता जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जान्छ’ गौतमको सचिवालय स्रोतले भन्यो, ‘त्यसमा केपी कमरेडले खासै प्रक्रिया दिनुभएन । बरु विगतका कुरा गरेर फर्किनुभयो ।’
गौतमको प्रस्तावलाई ओलीले महत्वका साथ नलिएको बताएको छ । तत्कालिन नेकपा फुटाउन गौतम आफै सक्रिय भएकाले पुनः एकता गराउन जानुको कुनै अर्थ नभएको ओली निकट एक नेताले बताए । ‘तत्कालिन नेकपा फुटाउन वामदेव कमरेड नै लाग्नुभयो । उहाँ खुलेर नलागेको भए यो अवस्था हुने थिएन’ ती नेताले भने, ‘अहिले आएर नेकपा जोड्छु भनेर कहाँ हुन्छ ? यो केही उपाय नलागेका कुरा हुन् ।’
कम्युनिष्ट एक हुँदा नै देश र जनताको हीत हुन्छ भन्ने कुरालाई बुझेका गौतमले एकताकालागी एमाले अध्यक्ष ओलीलाई राखेको झैं प्रस्ताव क्रमिक रुपमा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर राख्ने संयोजक गौतम सचिवालयले जनाएको छ । आगामी तीन मिहना भित्रमा वाम तालमेलसँगै एकता गर्न आग्रह गर्ने र फेरीपनि कम्युनिष्ट एक हुने कुरामा गौतम विश्वस्त देखिन्छन् ।






