रुपन्देही । बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् ।
उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको छ । योपनि कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको ज्यान गएको छ ।
लगातारको वर्षापछि घर भत्किँदा हिजो बेदकोट–४ धरमपुरकी पार्वती खुनाकी चार महिने छोरी करिश्माको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पार्वती खुना ११ वर्षीय छोरा अर्जुन र चार महिने छोरी करिश्मालाई घरमै छोडेर मेलामा गएका बेला घर भत्किएको थियो ।
घर भत्किँदा घाइते भएका अर्जुनको उपचार भइरहेको छ । योपनि काठमाण्डौ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हिजो थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म काठमाण्डौमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिए ।
उनका अनुसार हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना पुरुष रहेका छन् । काठमाण्डौ उपत्यकामा हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको पाइएको छ । धाराको पानी, बोतलरजारको पानी र जमिनमुनिको पानीको चार वटा नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो ।
त्यस्तै ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमुनामा इकोलिन फेला परेको छ । छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो ।
यो दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ । सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजाबाट बच्न पानी उमालेर खान, सकेसम्म घर बाहिरका खाना र बासी खानेकुरा नखान पनि डाक्टरको सुझाव छ ।






