काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ पत्र जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन् । आज मङ्गलबार काठमाण्डौमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली पत्र सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन् ।
उनले सरकारले नयाँ पत्र ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाए । अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा ढाँट्ने काम गरिरहेको बताए । उनले अध्यक्ष प्रचण्डले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याइँ बाहेक अरू नभएको बताए । अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिए ।
अध्यक्ष ओलीले भने,‘एक जना नेताले पटक–पटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो भनेर । अन्तर्राष्ट्रियरूपमा पनि ढाँटिरहेका छन् । एसपीपीमा अहिले आएको ड्राफ्ट नयाँ हो । म सरकारलाई सक्कली पत्र देखाऊ भन्छु । म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुन सक्छ, चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ । पहिलेको हटाएर र पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ हातले । सबै टाइप छ, त्यो पछि हातले किन लेख्नुपर्यो ?
त्यहाँ टिपेस लगाएर, त्यसलाई मेटेर हातले लेखिएको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु । पत्रमा अरू सबै टाइप छ तारिख चाहिँ २७ भनेर हातले लेखिएको छ । किनभने केपी ओलीलाई मुस्नका लागि सजिलो हुन्छ भनेर हो । चलानी नम्बर पहिलाको फेरेर ८५ कसरी भयो ? सबै लाइनमा टाइप गरेको छ, बीचमा हातले ८५ लेखिएको छ । छली काम अहिलेको सरकारले गरेको छ । यदि म प्रधानमन्त्री हुँदा भएको भए पनि त्यो गलत छ, त्यो मेरो जानकारीविना भएको छ ।’ यो समाचार उज्यालोमा छ ।






