बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिकाको कार्यालयमा छापा मारेको छ । स्थानिय निर्वाचन सकिएर नयाँ नेतृत्व चयन भएको दुई महिना बिते लगत्तै उक्त पालिकामा अख्तियारले छापा मारेको हो । कार्यालयको आवश्यक सामानहरुमा भ्राष्टाचार भएको भन्ने सूचनाको आधारमा शनिबार आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले सो पालिकामा छापा मारेको कार्यालय प्रमुख विष्णुराज पौडेलले जानकारी दिए ।
उनका अनुसार बढैयाताल गाउँपालिकामा गरिएको छड्के जाँच नियमित उजुरीको आधारमा गरिएको थियो । कार्यालयमा किनमेल सम्बन्धि सामानको विषयमा परेको उजुरीको आधारमा उक्त पालिकामा आयोगले छड्के जाँच गरेको बताउँदै वास्तविकता पत्ता लगाउन आयोगबाट खटिएका कर्मचारीहरुले ल्याएको कागजपत्रलाई अनुसन्धानमा राखिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

‘हाम्रो टोली बस्तु विधी र फिल्डको काम कार्वाही बुझ्न उक्त पालिकामा जाँचकालागी गएको थियो । टोलीले सामान किनमेलको कागजपत्र लिएर आएको छ भने बाँकी अनुसन्धानकै क्रममा रहेको छ ।’ कार्यालय प्रमुख पौडेलले भने । उनका अनुसार उक्त पालिकामा गरिएको चेक जाँच नियमित उजुरी अन्तर्गत कागज पत्र हेर्ने र सामानहरुको हेरफेर गर्ने रहेको थियो ।
कार्यालयको आवश्यक सामानहरुमा भ्राष्टाचार भएको भन्ने विषयमा उजुरी परेतापनि कुनकुन सामानमा उजुरी परेको हो र छड्के जाँच गर्दा कार्यालयबाट के कस्ता प्रमाणहरु फेला पर्यो भन्ने विषयमा भने आयोगले कुनै जवाफ दिएको छैन ।






