बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको राजापुर नगरपालिका वडा नं. ७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले रु २,७८,०८४ सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको जनाउँदै अख्तियारले जेष्ठ ३१ गते विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।
त्यसरी सामूदायिक बनको लाखौंको रकम हिनामिना गर्नेमा राजापुर ७ भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारु रहेका छन् । उनीहरुले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाले आ.व. २०७४, ०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट समूहको खातामा जम्मा भएको रकम तुरुन्तै चेकबाट रकम दाखिला गर्नेलाई नै फिर्ता दिई रु २,७८,०८४ सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
भ्रष्टचारमा संलग्न लाहानु थारु, सोहन प्यारी थारु र राधेश्याम थारुलाई बिगो रु.२,७८,०८ कायम गरी ऐ. ऐनको दफा १७ ले व्यबस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा १० र ऐ ऐनको दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद तथा जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुलउपर गर्ने समेतको मागदाबी लिइएको छ ।
यसैगरी सुरुची ट्रेड एण्ड सप्लायर्स, मगरागढी बर्दियाका प्रोपाइटर पारस गौतमले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाको आ.व. २०७४, ०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत लिलाम सकार गरी सोबापत जम्मा गरेको रकम समूहका पदाधिकारीहरुलाई प्रलोभनमा पारेर मिलोमतोमा चेक काट्न लगाई समूहको खाताबाट रकम निकाली रु २,७८,०८४ हिनामिना गरेकोले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गर्ने प्रतिबादीहरु लाहानु थारु, सोहन प्यारी थारु र राधेश्याम थारुको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगका प्रवक्ता एवं सूचना अधिकारी श्याम प्रसाद भण्डारीले जनाकारी दिए ।
सोही बमोजीम निज पारस गौतमलाई बिगो रु २,७८,०८४ कायम गरी ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक बाक्याशं र ऐ.ऐनको दफा १७ ले व्यबस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१० र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद तथा जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल गर्ने समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम जेष्ठ ३१ गते मंगलबार विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको छ ।






