काठमाण्डौ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारका कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको बताएका हुन् ।
उनले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पुर्याउन नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियामावली कार्यान्वयन, लगानी प्रशासनलाई सहज बनाउन उद्योग विभागमा एकल विन्दु सेवा केन्द्र स्थापना र लगानीको थ्रेस होल्ड पुनरावलोकन अन्तिम चरणमा पुगेको कारण विदेशी लगानी प्रतिबद्धतामा आकर्षण बढ्दै गएको बताए ।
मन्त्री खड्काले नेपालका ९२ स्थानमा रहेका खानीहरू सञ्चालन गरी ढुङ्गा, गिट्टी, बालुवालगायतका निर्माण सामाग्री ढुवानी गर्ने प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिए । मन्त्री खड्काले स्वदेशी उद्योग र उत्पादनलाई प्रवर्द्धन गर्ने निजीकरण प्रक्रियामा गएको हेटौँडा कपडा उद्योग र बन्द रहेका सार्वजनिक क्षेत्रका उद्योगहरू सम्भाव्यताका आधारमा पुनः सञ्चालन गर्ने सरकारले तयारी गरेको बताए । यो समाचार उज्यालोमा छ ।






