कास्की । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको केही काम छैन भन्दै परदेश सरकारको जनतालाई कुनै आवश्यकता नभएको बताएका छन् । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो अहिले नेपालमा दुई तहको सङ्घीय संरचना आवश्यक रहेको बताउँदै परदेश सरकारको कुनै आवश्यकता नभएको बताएका हुन् ।
केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नरहेको उनको तर्क थियो । अध्यक्ष थापाले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए । उनले गणतन्त्र स्थापनापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र बनाउनुपर्ने बताए ।
उनले अब राजसंस्थाको स्थापना सम्भव नभएको बताउँदै भने, ‘पूर्वराजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो । हामी राजसंस्थाको वकालत गर्दै देशव्यापी रूपमा परिचालित भयौँ तर राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन् दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’






