काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य छैन भनेर गरिएको प्रचार केवल भ्रामक र कुप्रचार मात्र भएको बताएका छन् । उनले त्यस प्रकारको कुप्रचारको पछाडी नलाग्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आज बुधवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन प्रदेश सभा र प्रतिनिधि सभा चुनावसम्म कायम रहने बताएका छन् । उनले आउँदो मङ्सिरमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुने भन्दै त्यतिबेलासम्म गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताए । उनले गठबन्धनलाई भत्काउने प्रयत्नहरू भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान समेत गरे ।
गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको भनाइ थियो । उनले भने,‘यो गठबन्धनको भविष्य छैन भन्ने कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउँदो चुनावसम्म वा चुनावपछिको अवस्थासम्म लिएर जान चाहन्छौँ । हामी इमानदारिताका साथ चल्छौँ । तर कमजारी भएका छन् भने त्यसको आलोचना पनि गर्छौँ ।’
अध्यक्ष नेपालले गठबन्धन गरेर पालिका चुनावमा जाँदा आफूहरूले पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मेयरमा सफलता हासिल गरेको बताए । उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पङ्क्तिलाई सचेत गराए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूले सकेसम्म राम्रो काम गरेकाले उनीहरूलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाइ थियो ।






