काठमाण्डौ । गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यावहारिक बताउँदै राष्ट्रिय युवा सङ्घ नेपालले विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज मङ्गलवार नयाँ बानेश्वरको यातायात व्यवस्था विभागमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजीसहित चर्को आलोचना गरिएको थियो ।
प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले यदि सरकारको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताए । उनले इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरूलाई पोस्ने काम गरेको आरोप लगाए ।
इम्बोस्ड नम्बर प्लेट जडानमा अर्बौँको स्वार्थ लुकेको भन्दै युवा सङ्घ अध्यक्ष पौडेलले भोलि बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि लिखित उजुरी दिइने बताए ।
विरोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो ।
सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थमा पनि मूल्य बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ । प्रति लिटर १ सय ८० पुर्याएपछि जनताको चर्को दबाबमा १० घटाएर प्रतिलिटर १ सय ७० कायम गरेको छ ।






