बाँके । नेपालगञ्ज उपमहानगर पालिकाले जिल्लामा सक्रिय रुपमा पत्रकारीतामा आवद्ध महिला पत्रकारहरुलाई वार्षिक रुपमा पत्रकारिता पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ । पत्रकार महिलाहरुको संगठन सञ्चारिका समूहद्धारा आयोजित कार्यक्रममा सहभागी नगर प्रमुख प्रशान्त विष्टद्धारा उक्त पुरस्कार को घोषणा गरिएको हो । पत्रकारितामा महिलाहरु जन्मिएपनि त्यसलाई कालन्तरमा निरन्तरता दिन नसकिरहेको कुरा स्मण गर्दै उनले महिला पत्रकारहरुको मनोबल उच्च बनाउन र यस क्षेत्रमा महिला पत्रकारहरुको निरन्तरता दिन २१ हजारको धनराशी सहीत पुरस्कारको घोषणा गरेका हुन् ।
‘बाँके जिल्लामा सञ्चारिका स्थापना भएदेखि मलाई सञ्चारिकाको बारेमा थाहा छ । अहिले पहिलाको जस्तो महिला पत्रकारहरुको संख्यामा निकै कमी भएको मैले महसुस गरेको छु । महिला पत्रकारहरु यस क्षेत्रमा निरन्तर रुपमा लागि रहन नसक्नुको प्रमुख कारण आर्थिक नै हो भन्ने मैले बुुझेको हुनाले म यसै मञ्चबाट महिला पत्रकारहरुको मनोबल बढाउनकोलागी र महिला पत्रकारहरुलाई आर्थिक रुपमा संरक्षण गर्नकोलागी नगद रु २१ हजार धनराशी सहीत वार्षिक एक जना महिला पत्रकारलाई सम्मान गर्ने घोषणा गर्दछु ।’ नगर प्रमुुख विष्टले अगाडी भने,‘हामीलाई विश्वास छ यस्ले पत्रकारितामा महिलाहरुको सहभागितामा बृद्धि र निरन्तरतामा थप ऊर्जाका साथ प्रेरणा दिनेछ ।’
कार्यक्रममा उपस्थित भएका सोही पालिकाक उप प्रमुख कमरुद्धिन राईले सञ्चारिकाले आयोजना हरेक कार्यक्रममा नगरपालिकाले बजेट छुट्टयाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘महिला र पुरुष दुबै पत्रकारको बराबरी भूमिका रहेको हुनाले विशेषगरी आर्थिक रुपमा महिलाहरुलाई सक्षम र स्वालम्बि बनाउनकालागी नगरले बजेट छुट्याउने छ ।’
सञ्चारिका समूहले बाँकेका आठ ओटै स्थानीय तहका प्रमुख र उपप्रमुुखहरुलाई स्वागत सम्मानसंगै जिल्लामा भएका पत्रकार महिलाको अवस्था र महिला मुद्याका बारे अन्तरक्रियात्मक छलफलको आयोजना गरिएको थियो । कार्यक्रमको महत्व र र औचित्य माथि प्रकाश पार्दै सञ्चारिका समूहका पूर्व क्षेत्रीय अध्यक्ष डा. मुना श्रेष्ठले महिलाहरुको समग्र अवस्था उजागर गर्नकोलागी स्थानीय सरकारले पत्रकार महिलाहरुलाई सहयोग गरिदिन आग्रह गरिन् ।
त्यसैगरी कार्यक्रममा सञ्चारिका समूह बाँकेकी अध्यक्ष रुपनी जि.एमले यस क्षेत्रका महिला पत्रकारहरुलाई स्थानीय सरकारले आर्थिक रुपमा सहयोग गर्नु पर्नेमा जोड दिईन् । उनले भनिन्,‘पत्रकारितामा महिला पत्रकारहरु पुरुष पत्रकारको तुुलनामा निरन्तर लागि रहेर पत्रकारिता गर्नकोलागी मुख्य चुनौति भनेको नै आर्थिक विषय हो । यो कुरामा यहाँका स्थानीय सरकारको ध्यान जान सकेको होस् ।’ उनले अगाडी थपिन्,‘पत्रकार महिलाहरुलाई अबपनि आर्थिक रुपमा सक्षम गराउन सकिएन भने पत्रकारिताबाट महिला पत्रकारहरु पलायन हुने सम्भावना दिनानुनि बढ्दै जानेछ ।’
कार्यक्रममा महिला पत्रकारसंग स्थानीय सरकारको समन्वयात्कम भूमिकाको विषयमा पत्रकार महासंघका लुम्बिीनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले पनि आफ्ना भनाईहरु राखेका थिए । त्यसैगरी कार्यक्रममा बाँकेका ८ वटै पालिकाका उपप्रमुखहरुले पनि पत्रकार महिलका विषयमा पालिकाले निभाउने भूमिकाको विषयमा आफुहरु प्रतिबद्ध रहेको बताए । नवनिर्वाचित जनप्रतिनीधी सबैले कार्यक्रममा राखिएको विषयलाई गम्भिरताका साथ लिएका थिए ।
कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, डुढुवा गाउँपालिका उपाध्यक्ष सायदा बानु, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादब, प्रेस चौतारी अध्यक्ष दुर्गा रोकाय, सन्चारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराजले पत्रकार महिलाहरुको हक हीत र संरक्षणको विषयमा आ आफ्नो धारणा राखेका थिए ।






