बर्दिया । बाघको आक्रमणबाट ज्यान गुमाएकी बर्दिया मधुवन नगरपालिका २ कोठिया गाउँकी कौशिका पालको परिवारले सहयोग स्वरुप रु १ लाख पाएको छ । बन्यजन्तुको आक्रमणबाट मृत्यु वरण गरेकाहरुलाई प्रदेश सरकारद्धारा तत्काल राहत सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो । डिभिजन बन कार्यालय बर्दियाका सूचना अधिकृत द्रोणराज शर्माका अनुसार मधुबन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट र डिभिजन बन कार्यालय बर्दियाका अधिकृत प्रबिण बिडारीद्धारा मृतकको परिवारलाई तत्काल सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरिएको थियो ।
यही आर्थिक वर्षदेखि शुरु भएको (पिडितसंग लुम्बिनी प्रदेश कार्यक्रम) अन्तर्गत बन्यजन्तुको आक्रमणमा परी मृत्यु बरण गरेकाहरुलाई रु १ लाख दिने र घाईते भएकाहरुलाई उनीहरुको अवस्था हेरेर उपचार स्वरुप २० हजार दिने व्यवस्था रहेको छ । बन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएकाहरुलाई संघिय सकारद्धारा रु १० लाख सहयोग गरिने सूचना अधिकृत शर्माले बताए ।
उनका अनुसार मृतकका परिवारले सबै कागजातहरु मिलाएको खण्डमा राहत सहयोग सिफारिस समिति मार्फत मृतकका परिवारलाई संघिय सकारबाट सो रकम मिलाई दिने व्यवस्था रहेको छ । डिभिजन वन कार्यालय बर्दियाका जिल्ला वन अधिकृत प्रविण विडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामूदायिक वनमा जेठ १० गते बाघले आक्रमण गरेको थियो । बाघको बासस्थान रहेको उक्त सामूदायिक वनमा कौशिकाको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।






