चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओबादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता कायम राख्दै आएकी छन् । अहिलेसम्म ७८ हजार ३१५ मतगणना हुँदा दाहाल ६ हजार १३८ मतले अगाडी छिन् । पछिल्लो मत परिणामअनुसार दाहालले ३० हजार ३९४ मत पाएकी छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म १० हजार ७२१ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ ।
योपनि नेकपा माओबादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका जगन्नाथ पौडेलको बागी उम्मेदवारीका कारण रेणु दाहालको जित सहज भएको निष्कर्ष निकालेको छ । जगन्नाथले माओबादीमा नआउने काँग्रेसको असन्तुष्ट भोट ‘होल्ड’ गरेकाले रेणुलाई सजिलो भएको ठम्याई माओबादीको छ ।
‘मतगणनामा देखिएको भोटिङ प्याटर्न हेर्दा जगन्नाथजीको उम्मेदवारी नभएको भए काँग्रेसको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जान्थ्यो’, माओबादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले उम्मेदवारीले आफुहरुलाई नोक्सान नभएको तर उल्टै सजिलो भएको बताए ।
यद्यपि बाहिर चर्चा चलाइएजस्तो गठबन्धनको योजनामा पौडेल उम्मेदवार नभएको स्पष्ट गरे । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठले उम्मेदवारीबाट पछि हट्न पटकपटक गरेको आग्रह पौडेलले अस्वीकार गरेको पुनले उल्लेख गरे ।
मतगणनाका क्रममा भूइँकटहर चिन्हबाट स्वतन्त्रमा चुनाव लडेका पौडेलले समग्रमा १० प्रतिशत र काँग्रेसको सङ्गठित मत ३० प्रतिशत ल्याएको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए । अधिकारीले पनि पौडेलले पाएको सबै मत एमाले उम्मेदवार विजय सुवेदीलाई थपिएको भए रेणुको जित कठिन हुन सक्ने स्वीकार गरे ।
भरतपुरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभाबाटै प्रधानमन्त्री देउवा र आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिन पौडेललाई गरेको आग्रह उनले अस्वीकार गरेको पुनको भनाइ थियो । पुनले भरतपुरमा एमालेकै मतदाताको आकर्षण पनि माओवादीप्रति देखिएको बताए ।
भरतपुर महानगरमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन थियो । रेणु गठबन्धनका तर्फबाट मेयर पदकी साझा उम्मेदवार हुन् । राप्रपासँग गठबन्धन गरेको एमालेले विजय सुवेदीलाई मेयरमा उम्मेदवार बनाएको थियो ।






