काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए । नेपालीमा बोल्दै मोदीले भने, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ ।’
बुद्ध मानवताको सामूहिक बोधको अवतरण भएको बताए । बुद्ध बोध र शोध दुवै भएको बताए । बुद्ध विचार र सभ्यता भएको बताए । ‘उहाँले हामीलाई यो अनुभूति गराए, प्राप्तिभन्दा पनि बढी महत्व त्यागको हुन्छ । त्याग गरेरै राजपरिवार छोडेर वनबास गए,’ प्रधानमन्त्री मोदीले भने ।
बुद्ध वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मिएको भन्दै उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो । यही दिन बोधगयामा ज्ञान प्राप्त गर्नुभयो । यही दिन कुशीनगरमा महापरिनिर्वाण भयो । यही वैशाख पूर्णिमाका दिन भगवान बुद्धको जीवन रह्यो ।’
योपनि नेपाल र भारतका प्रधानमन्त्रीले लुम्बिनीमा ‘इण्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’ को शिलान्यास गरेका छन् । २५६६ औं बुद्ध जयन्तीका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।
उक्त सेन्टर भारतको इन्टरनेशनल बुद्धिस्ट कन्फिडेरेसन अफ इण्डियाले बनाउने छ । ‘हाम्रो सहयोगबाट दशकौँ पुरानो सपना पुरा गर्नमा प्रधानमन्त्री देउवाको महत्वपूर्ण भूमिका छ,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘लुम्बिनी विकास कोषको माध्यमबाट कन्फेडेरेशनलाई जमिन दिने निर्णय देउवाले गर्नुभएको थियो ।’






