काठमाण्डौ । नपत्याउने खोलाले बगाउँछ भन्ने ऊखान यतिबेला काठमाण्डौको निर्वाचनमा लागु भएको छ । विधी र विधान अनुसार चल्दै आएको पार्टीलाई स्वतन्त्र रुपमा उभिएको एक उम्मेदवारले जित्न कुनैपनि हालतमा सक्दैन भनेर आँकलन गरिरहेको देशकै ठूलो पार्टी नेकपा एमालेलाई बालेन ले नपत्उँदा नपत्याउँदै धुलो चटाउन थालि सकेका छन् ।
एमालेको गढ मानिएको काठमाण्डौको ४ वटा वडामा बालेनले अपत्यारिलो मत लिएर विजयको ढोका खोलि सकेका छन् । सुस्त ढंगले गणना भइरहेका काठमाडौंका चार वडामा यसअघि २०७४ सालको चुनावमा एमालेले जितेको थियो । एमालेका तत्कालीन मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले अधिकांश भोट यिनै वडाबाट पाएका थिए । तर, परिस्थिति फेरिएको छ ।
विद्यासुन्दरले काठमाडौं नगरपालिकामा गुमाएको साखको परिणाम भोग्न केशव स्थापित आइपुगेका छन् । ठिक विपरित त्यसको फाइदा बालेनले उठाएका छन् । कांग्रेसलाई फराकिलो मत अन्तरले एमालेले पराजित गरेका वडामा बालेनको उपस्थिति आकर्षक देखिन्छ । अघिल्लो स्थानीय चुनावमा काठमाडौं १ मा एमालेका भरतलाल श्रेष्ठ बहुमतसहित विजयी भएका थिए ।
कांग्रेसले उनको भन्दा आधा कम मत पाएको थियो । अहिले भने बालेनले एमालेलाई चित खुवाएका छन् । त्यसैगरी वडा नम्बर ३ मा एमालेका दीपक केसी तीन हजार बढी मत ल्याएर विजय हुँदा कांग्रेसले चनचुन १५ सय मत ल्याएर लज्जास्पद हार खाएको थियो । सोही वडामा अहिले स्थापितले मत पाएनन् ।
अघिल्लो चुनावमा एमालेले बहुमत पाएको ठाउँबाट स्थापित विस्थापित हुँदा बालेन बबाल भइराखेका छन् ।
काठमाण्डौ महानगर ४ मा अघिल्लो चुनावमा एमालेका मोहनबहादुर विष्ट करिब चार हजार मत ल्याएर विजयी हुँदा कांग्रेसले तीन हजार मत पाएको थियो । अन्य दलको मत नगन्य थियो। अहिले सोही वडामा बालेनको लौरोमा आकर्षण बढ्दा एमालेको सूर्य अस्ताएको छ । अघिल्लो पटक बिना बादल सूर्यको उदय भएको काठमाडौं महानगर ३४ मा अहिले बालेन हाइाहाइ भएका छन् ।
०७४ मा एमालेका नवराज पराजुलीले करिब ६ हजार मतसहित वडाअध्यक्ष जितेको ३२ नम्बरमा बालेनको अग्रता देखिनु एमालेका लागि ठूलो धक्का हो । अघिल्लो चुनावमासमेत भारी मत अन्तरले यी चारवटै वडामा कांग्रेस पराजित भएकाले उसले पछुताउनुपर्ने देखिँदैन । पछिल्लो समय मतगणना भइरहेको वडा नम्बर २ मासमेत बालेनले नै बढी मत ल्याइराखेका छन् ।






