रुपनी जि.एम
बाँके, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर पालिकामा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयर पदका उम्मेदवार बनेका नन्दलाल वैश्यले स्थानीय तहको चुनाव घोषणा भए लगत्तै नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा उठ्ने तयारी गरेका थिए । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्ने आकांक्षा राखेका उनले टिकट पाउनुअघि नै प्रचार थालेका थिए । उनको तयारीमा पार्टीले पनि साथ दिएको थियो ।
तर सत्तारुढ दलको शीर्ष नेताको बैठकले नेपालगञ्जको मेयर नेपाली कांग्रेसले र उपमेयर जनता समाजबादी पार्टीले पाउने गरी भागवण्डा गरेपछि वैश्यको टिकट पाउनुअघि नै गरेको प्रचार प्रसार केवल प्रचारमै सिमित भई दियो र उनको माओबादी केन्द्रबाट उम्मेदवार बन्ने सपना गठबन्धनले चकनाचुर पारिदियो । त्यसपछि उनी रातारात राप्रपामा प्रवेश गरे । गरिएको कुराकानीको केही अंशः
माओवादीबाट मेयर उठ्ने तयारी गर्नुभएको तपाईँलाई पार्टीले नपत्याएपछि रातारात पार्टी परिर्वतन गरेर राप्रपाबाट मेयर उठ्नुभयो, टिकटकालागी राप्रपाले कसरी पत्यायो ?
यसमा राप्रपाले मलाई मेयरको टिकट दिएर ठूलै गुण लगाएको छैन या तपाईँले भने झैं टिकटकै लागी मलाई राप्रपाले पत्याएको भनेर भनी रहनु अतियुक्त नहोला । किनभने मैले राप्रपा प्रवेश गर्नु अघि नै पहिल्यैदेखि मेयरको उम्मेदवार हुने भनेर प्रचार प्रसार र भेटघाट गरिरहेको थिएँ । माओबादीले मेयरमा मलाई अघि सार्ने कुरा भइरहेको थियो, तर गठबन्धनमा नेपालगञ्जको मेयर माओबादीको भागमा नपरेपछि मलाई बलीको बख्रा बनाईयो ।
म आफैमा एउटा कुशल व्यापारी भएको हुनाले पनि मैले उद्योग वाणिज्य संघका निर्वाचनहरुमा विजय हासिल गर्दै आई रहेको हुनाले पनि मलाई चुनावी माहोलको बारेमा राम्रै ज्ञान छ । माओबादीले गठबन्धनका नाममा मेरो मेयरको उम्मेदवारी खोसेपछि मलाई त्यो कुराले मलाई कताकता बिच्छिप्त बनाई रहेको थियो । मेरो उम्मेदवारी फिर्ताको समाचार नेपालगञ्ज भरी नै व्यापक भएको खबर राप्रपाका महामन्त्री एवं नगर प्रमुख धवल शम्शेर राणालाई पनि थाहा भएछ र उहाँले मसंग कुरा गरेपछि मैले मेयर बनेर काम गर्ने वातावरण राप्रपाबाटै पाउँछु भने किन त्यो प्रस्ताव स्वीकार नगर्नु त भन्ने लाग्यो र त्यसरी राप्रपा प्रवेश गरेको हुँ ।
रह्यो कुरा राप्रपामा म रातारात प्रवेश गरे भन्ने यो कुरा चै केही मात्रामा सत्य भएतापनि पुरै सत्य भने हैन । किनभने राप्रपाका महामन्त्री धवलशम्शेर राणासँग मेरो सम्बन्ध पहिलादेखि नै सुमधुर थियो । उहाँंसंग प्राय मेरो कुराकानी भइरहेको हुन्ग्यो । उहाँले पहिलादेखि नै मलाई आफ्नो पार्टीमा आउने कुरा गरि रहनु हुन्थ्यो । तर भनिन्छ नि जुन सुकै कुराकोलागी उचित समय पर्खनु पर्छ भनेर मेरो राप्रपा प्रवेशको कुरापनि त्यही उचित समयको पर्खाई नै थियो । जुन मेयरको विषयले पुरा गरिदियो ।
राप्रपा प्रवेश गर्ने बित्तिकै तपाईँले टिकट पाएपछि राप्रपाका पुराना नेताहरु जो मेयरको दाबेदार थिए, उनीहरु त असन्तुष्ट छन् होला नि ?
यो साँचो हो, कि मैले मेरो पुर्व पार्टी माओबादी केन्द्रबाट मेयर लड्ने तयारी गरिरहँदा राप्रपामा चार–पाँच जना साथीले यताबाट मेयरमा दाबी गरिरहनुभएको थियो । उहाँहरुले नेपालगञ्जको मेयरको उम्मेदवार हुँ भनेर प्रचार प्रसार पनि गरिरहनुभएको थियो । राप्रपाको नगर समितिले उहाँहरुको नाम सिफारिस पनि गरेको थियो, उहाँहरुको चर्चाकै बीचमा मैले टिकट पाएको हुँ ।
तर उहाँहरु मध्य कसैको पनि नाम फाईनल भने भएको थिएन । फईनल नभएकै समयमा मैले राप्रपामा प्रवेश गरेको र टिकट पएको हुनाले मसंग कोही पनि असन्तुष्टि हुनु हुन्न । पार्टीका जिल्लामा रहेका सबै नेताहरुले सहयोग गर्नुभएको छ । उहाँहरु खुलेर प्रचार अभियानमा लाग्नुभएको छ । जो मेयरका आकांक्षी हुनुहुन्थ्यो, उहाँहरुलाई पार्टीले मिलाइसकेको छ । उहाँहरु असन्तुष्ट हुनुहुन्न ।
राप्रपाले तपाईंलाई नै उम्मेदवार बनाउनुको कारण के हो ?
मलाई राप्रपाले उम्मेदवार बनाएकोमा आश्चर्य मान्नु पर्दैन भनेर मैले अगाडी पनि भनि सकेको छु र फेरी पनि भन्छु । म आफैमा एउटा व्यापारी संगसंगै राजनीति पहिचान बनाएको व्यक्ति हुँ । २०५६ सालदेखि विभिन्न चुनाव लडेको अनुभव छ मसंग । कुनै एक समय थियो जतिबेला मैले कांग्रेसको भातृ संगठन तरुण दलको चुनाव लडेको थिएँ । दुई कार्यकाल वडाको अध्यक्ष भएर राजनीतिक अनुभव त्याहाँबाट पनि बटुलेको छु मैले । त्यसपछि वैश्य समाजको चुनाव लडें, दुई पटक उपाध्यक्ष भएर काम गरेँ ।
२०६३ सालमा नेपालगञ्ज उद्योग व्यापार संघको कार्यकारिणी सदस्यमा अपार मतले विजयी भएँ । त्यस अघि व्यापार संघकै चुनाव लडें र हारे पनि । त्यसैगरी २०६६ सालमा चुनाव नै जितेर वाणिज्य संघको उपाध्यक्ष भएँ । त्यसपछि अध्यक्षका लागि चुनाव लड्दा जम्मा ४ मतले पराजित भएको नमिठो अनुभव छ मसंग । त्यसपछि अर्को चुनावमा अपार मतले संघको अध्यक्षमा निर्वाचित भएँ । अहिले पनि म मेरो आफनै वैश्य समाजको अध्यक्ष छु ।
वैश्य समाजमा ७ हजार मत छ । त्यस्तै यहाँको ठूलो समिति मानिएको हडिया बाबा समितिको अध्यक्ष पदमा रहेर काम गरिहेको पनि छु ।नेपालगञ्जमा रहेको सामाजिक सदभाव समितिको पनि अध्यक्ष छु । प्रदेश योजना आयोगमा पनि छु । लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघको संयोजक पनि छु । मैले यसरी भनि रहंदा मेरो भनाइको अर्थ यत्ति मात्रै हो कि म लगातार कहीँ न कहीँ कुनै न कुनै चुनावकै माध्यमबाट जनताको मनमा छु ।
मुस्लिमहरुको महान पर्व इदको अवसर होस् या हिन्दुहरुको नवरात्र, विजयादशमी, सिखहरुको पर्व या अन्य कुनै समुदायको पर्वका अवसरमा पानी वितरणदेखि लिएर अन्य सामाजिक कार्यहरुमा निरन्तर लागिरहेको छु । सबै धर्मको संस्कार र संस्कृति मैले नजिकबाट बुझेको छु । यहाँका उद्योगी व्यापारीको समस्या बुझेको छु । उद्योग वाणिज्य संघको अध्यक्षमा जित्ने बेलामा यहाँका व्यापारीको माग अनुसार लोडसेडिङमुक्त नेपालगञ्ज बनाउन सफल भयौं । नेपालगञ्ज नगरभरि सीसीटीभी क्यामरा व्यवस्थापन गर्यौं । नगर सरसफाइ अभियानमा सहभागी छु ।
स्थानीय सरकारको काम पनि गरियो । त्रिभुवन चोक राम्रो बनाउने पक्षमा लागे । म भर्खरै जन्मिएको उम्मेदवार हैन । राजनीतिमा मेरो निरन्तरताले अनुभवको मिसाल नै कायम गरेको छ । यहाँका जनता कति दुःखी छन्, कति खुशी, कति बाटो बनेको छ र कति बन्न बाँकी छ, धार्मिक सम्प्रदायको मिसाल बनेको यो शहरमा विभिन्न समूदाय अन्तरगत मुस्लिम समुदायको मागहरु के कस्ता छन्, हिन्दुहरुको मागलाई कसरी पुरा गर्न सकिन्छ, त्यसैगरी पहाडी समुदायको समस्या के छ,
युवाहरुलाई कस्तो खालको राजगारीको आवश्यकता र रोजगारी कसरी श्रृजना गर्नु पर्छ, यहाँको व्यापारीहरुको समस्या के छ, यी सबै कुरालाई मैले नजिकैबाट बुझेको छु र मेरो ज्ञान अनि अनुभव दुबै कुरालाई म प्रयोग गर्ने क्षमता पनि राख्दछु । समग्रमा सानो ठूला व्यापारीदेखि लिएर सुन पसलसम्मको समस्या र कसरी व्यवस्थापन गर्न सकिन्छ सबै कुराको ज्ञान हासिल गरेको छु । यी सबै अनुभवले म पार्टीको नजरमा परेको हुँ ।
तपाईंलाई त ‘टुरिस्ट’ उम्मेदवारको उपनाम दिएका रहेछन् नि ?
कस्ले के मलाई के नाम दिन्छन्, कुन उपनामले सम्बोधन गर्छन् त्यतातिर मेरो ध्यान जाँदैन । र मलाई फरक पनि पर्दैन । मलाई त एउटै कुराको चिन्ता छ त्यो हो मैले चुनाव जीतेपछि आफुले जनता सामू लिखित रुपमा गरेको प्रतिबद्धतालाई पुरा गर्न सक्छु कि सक्दैन । बाँकी अरु कुरामा मलाई केही फरक नै पर्दैन । मलाई त केवल काम गर्नु छ । मलाई दाम पनि चाहिएको छैन ।
मसंग मेरो पुस्तालाई पुग्ने पैसा छ । अब मलाई पैसा कमाउनु छैन । मलाई त केवल समाज सेवा गर्नु छ । मैले त जनता सामू घोषणा पनि गरि सेकेको छु कि जीतेपछि मैले मेरो तलबबाट एक रुपैंया पनि नलिएर पुरै जनताको सेवामा खर्चिने छु । म यस्तो खालको योजना र रणनीति बनाएर अघि हिंडेको मान्छेलाई कस्ले के भन्छ भनेर जानकारी राख्दै बस्ने फुर्सदै छैन ।
निर्वाचित हुन्छुु भनेर ढुक्कका साथ भनि रहनु भएको छ, निर्वाचित हुनु भयो भने कुन कुरालाई प्राथमिकता दिनुहुन्छ ?
पहिलो प्राथमिकता भनेको नेपालगञ्ज नगरलाई सफा राख्ने हो, धुलोमुक्त नगर बनाउने । नेपालगञ्ज सबैभन्दा गर्मी स्थान भएकाले यहाँको बजार व्यवस्थापन गरी हरियाली बनाउने, ट्राफिक व्यवस्थापन गर्ने, रिक्सा चालकहरुको समस्या समाधान गर्ने मेरो योजना छ । त्यस्तै सब्जी मण्डीको उचित व्यवस्था गर्ने, यहाँका युवालाई रोजगारी र स्वरोजगारका योजना ल्याउने, यहाँका विपन्न परिवारलाई आम्दानीको व्यवस्था गर्ने पनि मेरो योजना छ ।
अर्को भनेको छिमेकी मुलकु भारतको उत्तरप्रदेश राज्यका जनताहरुलाई पर्यटकका रुपमा कसरी नेपालगञ्ज भित्र्याउने भन्ने हो । नेपालगञ्जमा आकाशे पुलको आवश्यकता छ, नगरमा चक्रपथको आवश्यकता छ, यी विषय मेरो प्राथमिकतामा छन् । यसका अलावा यहाँका बुद्धिजीवीहरु (विज्ञ) को सल्लाह, सुझाव अनुसार यहाँको आवश्यकता अनुसार काम गर्नेछु । यी कुराहरु जितेको ६ महिनाभित्र गरेर देखाउने छु ।






