रुपनी जि. एम
बर्दिया । बैशाष ३० गते हुन गई रहेको आसन्न स्थानिय तहको निर्वाचनले देशै भरी रौनकता छाएको छ । निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारहरु आफ्नो पार्टीको घोषणा पत्र लिएर घरदैलो कार्यक्रममा व्यस्त छन् भने मतदाताहरु कुन दलका कुन उम्मेदवारलाई भोट दिने भन्ने विषयमा अझैं अन्योल नै छन् ।
एकातिर पाँच दलको गठबन्धन र अर्कातिर नेकपा एमालेको एक्लो प्रतिस्पर्धाले नै चुनावी माहोललाई थप रौनक बनाई रहेको छ । गठबन्धनले स्थानिय तहमा बाजी मार्ला ? या हार्ला ? यो सबैकालागी कौतुहल्ताको विषय नै बनेको छ । नतिजा कस्को पक्षमा कति जान्छ त्यो भने बैशाष ३० गते पछिको मत परिणामले नै बताउने छ । तर अहिले भने सबैको ध्यान स्थानिय तहको निर्वाचनमा केन्द्रित छ ।
यसैबीच राजनीतिको भूमण्डरी मच्चिने बर्दियामा पनि स्थानिय तहको चुनावि माहोल निकै नै तातिएको छ । गठबन्धनको त्यति तालमेल हुन नसेकेको बर्दियामा नेकपा एमालेको अवस्था र उम्मेदवारहरुको जीतको सम्भावना कस्तो छ भन्ने विषयमा नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठसंग गरिएको कुरकानीको केही अंश
यो स्थानिय चुनावमा गठबन्धनसंग प्रतिस्पर्धा गर्न तयार रहेको एमालेको चुनावी माहोल कस्तो छ बर्दियामा ?
बर्दियामा ८ वटा पालिका रहेको छ । विगतको निर्वाचनमा हामीले ३ वटा पालिका (बदैयाताल, ठाकुरबाबा र बाँसगढी) मा विजय हाँसिल गरेका थियौं भने, नेकपा माओबादीले ३ वटा पालिका र नेपाली कांग्रेसले ३ वटा पालिका विजय गरेको थियो । यस पालि ओटा पालिकामा हाम्रो कम्तिमा पनि ५ वटा पालिकामा जीत सुुनिश्चित नै छ । र विगतमा विजय हाँसिल गरेको पालिकालाई कायम त छँदै छ ।
वडाको सन्दर्भमा हाम्रो जिल्लामा ७५ वटा वडा रहेको छ ।
ती मध्य ४० वडामा कम्तिमा जीत सुुनिश्चित छ । र पछिल्लो पटक देश व्यापी रुपमा नेकपा एमालेको पक्षमा जुुन लहर देखिएको छ बर्दियामा त्योभन्दा बढी उत्साह देखिएको छ । र हामीले नेपाली कांग्रेसबाट निर्वाचित गुुलरिया नगरपालिकामा उप मेयर सहीत ठूलो संख्यामा कार्यकर्ताहरु त्यसैगरी नेकपा माओबादीबाट ठूलो संख्यामा कार्यकर्ताहरु र स्वतन्त्रमा रहेका धेरै कार्यकर्ताहरु यस अघि नै एमालेमा प्रवेश गरेको हुनाले पनि हाम्रो जीत सुनिश्चित नै छ ।
तपाईँले यसो भनि रहँदा बर्दियामा गठबन्धनले नेकपा एमालेलाई कुनै प्रकारको प्रभाव पार्दैन भन्न खोज्नु भएको हो ?
बर्दियामा गठबन्धन नै छैन । केही छिटपुट बाहेक एमाले, माओबादी र कांग्रेस अलग अलग लडि रहेका छन् । गठबन्धन भएको भए सायद हामीलाई ५ वटा स्थानिय पालिका जित्न गाह्रो नै हुने थियो होला । त्यो नभएको हुनाले हाम्रो प्रतिस्पर्धा अलग अलग छ । अलग अलग प्रतिस्पर्धामा हामीलाई खासै डराउनु पर्ने कुनै अवस्था नै छैन । विगत ५ वर्षमा हामीले गरेको काम त्यसै बीचमा कोभिड जस्तो हामारीमा जनताको स्वास्थयको विषयलाई लिएर उहाँहरुलाई आवश्यक परेको सहयोग,
हामीले जनताबाट कमाएको विश्वास, हामीप्रति उहाँहरुको आशा भरोसा, अन्य पार्टीबाट हाम्रो पार्टीमा प्रवेश गर्नु भएका कार्यकर्ताको लहर, विकासका संरचनामा हामीले मारेको फड्को, कृषिका विषयमा हामीले दिएका अनुुदानका कुराहरु आदि ईत्यादि सबै कुरालाई यहाँका जनताले मूल्यांकन गरेका छन् । त्यसैले पनि हामी ढुक्क छौं । यीनै कारणहरुले पनि विगतमा भन्दा यो निर्वाचनमा हामीले हिजो प्राप्त गरेको भन्दा बढी उपलब्धि प्राप्त गर्ने छौं भन्नेमा हामी ढुक्क छौं ।
बर्दियामा एमालेका उम्मेदवारहरु दोहोरिएका छन् । आठ वटा पालिका र ७५ वटा वडामा कति जना उम्मेदवारलाई दोहोर्याउनु भयो र किन दोहोर्याउनु भयो ?
हामीले पालिका प्रमुखमा २ वटा पालिकामा उम्मेदवारलाई दोहोर्याएका छौं । ती दुई वटा हुन् ठाकुराबाबा नगरपालिका र बढैयाताल गाउँपालिका । बाँकी ६ वटामा हाम्रा उम्मेदवारहरु नयाँ हुनुहुन्छ । त्यसैगरी वडामा पनि हामीले निवार्चित भएका मध्य ५ जना जतिलाई दोहोर्याएका छौं । त्यसैगरी जिल्ला भरीमा सदस्यहरुलाई हेर्दा हमीले २० जना जतिलाई दोहोर्याएका छौं । र जतिपनि नयाँ उम्मेदवारहरु हुुनुहुन्छ उहाँहरु उम्मेदवारका हिसाबले नयाँ भएतापनि राजनीतिक हिसाबले भने उहाँहरु सबै जना नै अनुभवि र समाज रुपान्तरणकालागी काम गर्ने सक्ने क्षमता भएका हुुनुहुन्छ । त्यसैगरी दोहोरिएकाहरुलाई भने पार्टीले भन्दा पनि जनताले रुचाएको हुनाले हामीले दोहोर्याउन बाध्य भएका हौं ।
काम गर्ने इच्छा त सबैको हुन्छ । तर त्यसरी दोहोर्याउँदा जिल्लाकै अध्यक्ष भएको नाताले सहज वातावरण भएथ्यो होला र ?
उम्मेदवार दोहोर्याउनुको पछाडि हाम्रो मूलभूत कारण एउटै छ । र त्यो हो उहाँहरुलाई पार्टीको र जनताको उम्मेदवार बन्नु पर्छ भन्ने ठूलो प्रेसर वा जनमत जे भन्नुस् । त्यो भएकै कारणले पनि हामीले उहाँहरुलाई दोहोर्याएका हौं । पार्टी र जनमत दुवैको कारणले उहाँहरुको इच्छा र चाहाना नहुँद नहुँदैपनि दोहोर्याउन हामी बाध्य भएका हौं । त्यसैले खासै तपाईँले जान्न खोजे जस्तो या अरुले बुझ्न खोजे जस्तो असहज वातावरण भने भएन । जनमतद्धारा फलानो नै हुनु पर्छ भनेर तोकिएको हुनाले सहज नै भयो ।
तपाईँले यी कुराहरु भनि रहंदा तपाँईको जिल्लाको पालिका र वडाहरुमा महिला उम्मेदवारहरु कति उठाउनु भएको छ ?
हामीले ८ वटा पालिकामा संविधानले भने बमोजिम नै आठै वटा पालिकाहरुमा उप प्रमुखहरुमा महिला उम्मेदवारहरुलाई चयन गरेका छौं । उपप्रमुखको विषयमा हामीले उहाँहरुलाई उहाँहरुको अधिकार बञ्चित गराएका छैनौं । त्यसैगरी संविधानकै व्यवस्था अनुसार प्रत्यक वडामा २ जना महिला सदस्या उठाउनु पर्ने थियो तर हामीले ७५ वडामा डेढ सय जना महिला उम्मेदवार हुनु पर्नेमा हामीले सय जना महिला सदस्यहरुलाई उठाएका छौं ।






