रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन दलको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिने बताएका छन् । रुपन्देहीमा आज बुधबार आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री खाँडले चुनावमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने जो कसैलाईपनि कारवाही गरिने बताएका हुन् ।
गृहमन्त्री खाणले भने,‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्त्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा ठाउँमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ ।’ कार्यक्रममा उहाँले नागरिकका अधिकार सशक्त बनाउन पालिका चुनाव महत्त्वपूर्ण भएको बताए ।
नागरिकको नजिकको सरकार भएकाले पालिका चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ । गृहमन्त्री खाणले पहिले पालिका चुनाव विभिन्न चरणमा हुने गरे पनि अहिले एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताए ।






