काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सात सय करोड रुपैयाँमा पनि खरिदबिक्री नहुने बताएका छन् । बुधबार ‘युवासँग म’ विषयक अन्तरक्रियामा युवाहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले एमाले सात करोड त के कुरा गर्नु ? सय करोड रुपैयाँमा पनि खरिदबिक्री नहुने बताएका हुन् ।
‘नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर जलाउँदै हिड्ने पागल होइन यो’, ओलीले रुपन्देहीका सरोज भट्टराईले सोधेको प्रश्नको जवाफ दिदै भने, ‘तर अनुचित पैसा, अनुचित कारोवार, अनुचित प्रलोभन अनफेयर क्रियाकलापमा विश्वास गर्दैन र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिदैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भट्टराईले आफु पनि राजनीतिमा आउन चाहेको तर आफुसँग पैसा नभएकाले सात करोड लिएर आउने व्यापारीलाई उम्मेदवारको टिकट दिनुहुन्छ कि मलाई ? भनेर प्रश्न गरेका थिए । भट्टराईको प्रश्नको जवाफमा ओलीले भने, ‘एमालेलाई सात सात करोड होइन, सात सय कारोड सात हजार करोड, सात लाख अफर कसैले गर्छ भने पनि एमालेलाई खरिद गर्न सम्भव छैन ।’
उनले राजनीतिक फिल्ड कसैको ठेक्का पट्टाको विषय नभएको पनि बताए । साथै उनले एमालेले राजनीतिमा सवैलाई स्थान दिने गरेको भन्दै ‘ओपन’ रहेको बताए । ‘यहाँ तोकिएका खेलाडी छैनन’, ओलीले भिच्छु अश्वघोष, हरिप्रसाद पाण्डे र गोल्छ सार्कीको नाम लिदै सबैलाई समान अधिकार दिदै आएको बताए ।
ओलीले युवाहरुको एकमुष्ट जवाफ दिने क्रममा युवाहरुको चेहरा र अभिव्यक्तिमा देश भक्तिको आकांक्षा र राष्ट्रिय एकता देखेको भन्दै त्यसमा आफु ढुक्क रहेको बताए । उनले देशमा समस्याहरु रहेको र ति समस्या हामी सवैले भोगिरहेको र भ्रष्टचार यत्रतत्र रहेको स्वीकार गर्दै त्यसबाट मुक्त हुनुपर्ने बताए ।
‘कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मेहनत नगर्ने बानी छ । त्यस्ता कुरालाई आफैबाट पनि हटाउनुपर्छ’, ओलीको भनाइ छ । जवाफ दिने क्रममा ओलीले इतिहास, धर्म, योग, ज्ञान विज्ञान, अन्तरिक्ष, आकास, औषधीदेखि मानवशास्त्र र खगोलशास्त्रसम्मको सवैको व्याख्या गरेका थिए ।






