काठमाण्डौ । जीवनमा कति यात्रा गरियो, हिसाब छैन । बाटोमा कति भेटिए, सम्झनामा कोही रहेनन्। तर, झण्डै पाँच वर्षअघिको एक साँझ काठमाडौँदेखि दाङसम्मको यात्रा भने अहिले पनि ताजा छ । एक्लै थिएँ, लामो यात्रामा । अलि अप्ठ्यारो महसुस भैरहेको थियो । सोच्दै थिएँ, यात्रा कस्तो होला ? म गाडीको झ्यालतिरको सिटमा बसेँ । बसको सिटमै निदाएर रात बिताउनुपर्ने थियो ।
मनमा डर थियो, को होला सँगैको सिटमा भनेर । बसपार्कबाट गाडी हिँड्न थाल्दासम्म पनि खाली थियो सँगैको सिट । कलंकीनजिक पुग्नै लाग्दा जब लामो कपाल, गुलाबी रङको कुर्तासुरुवाल लगाएकी महिला सँगै आएर बसिन्, तब खुल्दुली शान्त भयो ।
खुसी हुँदै सोधिहालेँ, ‘दिदी कहाँसम्म जाने ?’
उनको अनुहारमा भने कुनै उत्साह थिएन । भनिन्, ‘प्युठान जाने । तपाईं नि ?’ ‘म त दाङ जाँदैछु ।’ उनको चेहरामा निराशा पोतिएको सहजै थाहा पाएँ, तर कारण के थियो, थाहा पाइनँ । न त सोध्न नै आँट गरेँ । सामान्य औपचारिकतापछि खासै बोलिरहन मन लागेन । उनको आगमनले म ढुक्क भएँ । गाडी आफ्नै रफ्तारमा दौडियो ।
करिब ८ बजेतिर निदाउनै लागेकी थिएँ । गाडी रोकिएपछि दिदीले हात समाउँदै भनिन्, ‘बहिनी पानी लिन जाउँ है ।’ अल्छी लागे पनि हुन्छ भनेर म उठेँ । पसलबाट चाउचाउ र पानी लिएर आयौँ । त्यसपछि पनि दिदीले सोधिरहिन्, घर कहाँ, किन काठमाडौँ आएको, आदि आदि। उनको नाम उषा रहेछ ।
भदौको अन्तिम साँझ रातभर झरी परिरह्यो । घुम्ती अनि खाल्डाहरु छिचोल्दै बस कुद्यो । नौबिसेको ओरालो, मुग्लिनको जाम, त्रिशुलीको बहाव, प्रहरी चेकिङ सबै छिचोलियो ।
अरु बेला चुपचाप बसेपनि गाडी रोकिएका बेला केही न केही बोलिरहेकै हुन्थिन्, उषा दिदी । भेट पहिलो थियो । तर, केही समयमै हामी निकटजस्ता भयौँ । खाना खाने समय भएपछि रोकिएको थियो गाडी । कुनै प्रसंगमा मैले काठमाण्डौ आउनुको कारण सोधेँ । त्यसको जवाफ दिन खोज्दा टिलपिल भरिएका थिए उनका आँखा । सम्झनाको बाढीले उनको मन बिथोलेको थियो । आँसु पुछ्दै गर्दा लाग्थ्यो, पीरकै भारी बोकेर बाँचेको छ, उषा दिदीको एकथान जिन्दगी ।
केहीबेर सन्नाटा छायो । थप केही बोलिनन्। बोल्न मन गरिनन् । तर मलाई भने जिज्ञासा जाग्यो । झन् धेरै जान्ने चाहना बढ्यो । गाडीमा फर्केपछि उनले आफ्नो झोलबाट एउटा डायरी मेरो हातमा थमाइन् र भनिन्, ‘यही हो मेरो साथी । यसैमा पोखेकी छु मैले आफ्ना व्यथा ।’ मैले डायरी पल्टाएँ र पढ्न थालेँ ।
प्रिय शिशिर……
तिमी कक्षाको टपर थियौ । कक्षाको मात्रै होइन, ६ देखि १० कक्षासम्म विद्यालय प्रथम पनि तिमी नै भएका थियौ। पढाइमा त्यति राम्रो गर्न सक्ने भए पनि नेपालमै केही गर्न सक्थ्यौ होला । तर तिमीले अस्ट्रेलिया रोज्यौ । तिमी अरुलाई हौसला र प्रेरणा थप्थ्यौ । तिम्रो हँसिलो अनुहार अझै पनि उस्तै ताजा बनेर आउँछ, मस्तिष्कमा ।
तिमीलाई याद छ कि अथवा बिर्सिसक्यौ ? यदि बिर्सेका छैनौ भने मलाई एसएलसीमा विषय लागेर फेल भएपछि जबरजस्ती पढ्न लगाउने तिमी थियौ । तिम्रै समर्थन र प्रेरणाले म राम्रो अंक ल्याएर फेरि पास भएकी थिएँ । बिर्सेकी छैन, हाम्रो भेटमा तिमी भन्ने गर्थ्यौ, जस्तोसुकै जटिलतामा पनि म तिम्रो हुनेछु। जसरी पनि हामी एक हुनेछौँ । तर त्यो बेला असम्भव हुने कुरा पनि मलाई विश्वास लाग्यो ।
अहिले सपना जस्तो लाग्छ त्यो विगत । तिमीले जानुअघि देखाएका सपना र गरेका बाचा ताजा छन् । जानुअघि भनेका थियौ, ‘म आर्थिक रुपमा सक्षम भएर फर्कन्छु घर बनाउनुपर्छ । छुट्टै संसार बनाउनुपर्छ ।’ तिम्रो हिँडाइ, बोलाइ सबै सबै ताजा छन् । हिजो जस्तै लाग्छ वचनबद्ध गरेको । तिमी जानुको अघिल्लो रात भित्र कसैले सुन्छन् कि भनेर घरदेखि माथि रुखमुनि बसेर बाचा गरेको । बाचा बाचामा नै सीमित भएपछि गुनासो आफैँसँग गरिरहेको छु । यो मेरो भोगाइलाई कसरी लिन्छौ होला ? धोका सम्झन्छौरु या त मजबुरी सम्झन्छौ ?
उसो त मसँग धेरै गुनासो रहनेछ तिम्रो । म टाढिनुलाई रहर नठानी बाध्यता ठानिदिनू । स्वार्थी बनी भन्ने ठाने पनि ठिकै छ । म के गर्न सकुँला र तिम्रो लागि केवल पर्खन त सकिनँ । मभन्दा महत्वपूर्ण लागेको तिम्रो भविष्य सपना र करिअरमा सफल हुनू, शुभकामना छ । तिमी असल छौ । थाहा छ सफल पनि हुनेछौ । मभन्दा धेरै बुझ्ने तिमी छौ। जीवनभर मेरो अभाव पक्कै खड्किने छैन ।
प्रिय शिशिर…..तिमी विदेश जाँदा मभन्दा महत्वपूर्ण लागेको तिम्रो करिअर बिगार्नु छैन मलाई। त्यसैले जान्छु है भन्दा हुन्छ भनेकी थिएँ । फर्काउन नै खोजेको भए पनि तिमी के आउँथ्यौ होला र ? एउटी मामुली केटीको लागि । तिमी सही समयमा सही निर्णय गर्ने मान्छे हौ । संसारमा आफूबाहेक आफ्नो कोही हुँदैन भन्ने बुझेको छौ । तिमी खुसी छौ भन्ने सुन्न पाऊँ । म हुर्केको समाजमै हुर्केका थियौ तिमी पनि । तर बुझेर पनि नबुझे झैँ गर्यौ ।
छोरीलाई इज्जत जोगाउन चाँडै बिहे गरिदिने चलन छ हाम्रोमा । तिमीले बिस्र्यौ कि विदेश पसेपछि, मेरो उमेर बढेसँगै म परिवारको बोझ बन्दै छु । आफ्नै बुबाआमाले पनि घरमा राख्न चाहनुभएन । बिहे गरिनस् भने आत्महत्या गर्छु भन्नुहुन्छ आमा । बाबाले अनेक पाठ रटाउनु हुन्छ । मेरो विमतिमा दाइको शिर झुक्ने र नाक काटिने कुरा छ । आमाबुबा, दाइ र आफन्तको बचन काट्न सक्दिनँ । परिवारको अडान स्वीकार्नैपर्छ ।
तिमी बिनाको जिन्दगी वरबिनाको पिपल हुनेछ । हाँसोखुसी टाढा छ मबाट । आफ्नाहरुको बीचमा एक्लिएकी छु । सबै उत्साह मरेर गएको छ । तिम्रो एक वाक्यले ओठमा मुस्कान ल्याउँथ्यो। मनमा खुसी छाउँथ्यो। मान्छेहरू भन्ने गर्थे, हरेक औँसीपछि पूर्णिमा आउँछ। मैले पूर्णिमा पर्खेको धेरै भयो । अब म थाकिसकेँ । तिमीलाई पर्खिन सक्दिनँ । उषा
पढ्दापढ्दै मन भारी भयो । दिदी निदाइसकेकी थिइन् । डायरी हातमै थियो । म पनि निदाएछु । बिहान ब्युँझिँदा उषा दिदी थिइनन् । उनको फोन नम्बर र इमेल सहितको कार्ड, अनि मेरो हातमा भएको त्यो डायरी मेरै झोलामा राखिदिएकी थिइन् । अहिले पनि मसँगै छ, त्यो डायरी । मसँगै काठमाडौँबाट फर्केको त्यो रात घरमा बिहेको कुरा चलेपछि पढिरहेकी उनी घर फर्केकी थिइन् ।
उनले बिहे गरिछन् । अहिले पनि बेलाबेला फोन गर्छिन् । ‘जिन्दगीको अनौठो परिबन्ध स्वीकार्नुको विकल्प छैन,’ उनी भनिरहन्छिन् । म अझै पनि सोचिरहन्छु, उषा दिदीले त्यो डायरी किन मलाई छाडेर हिँडिन् ? यात्रामा धेरै भेटिन्छन्, छुटिन्छन् । तर कतिपय सम्झनाहरु छुट्दैनन् । त्यो साँझ पनि ताजा बनेर मेरो स्मृतिमा बसिरहेको छ, कुनै चलचित्रको नमिठो अंशजस्तै । मीना खड्काद्धारा लेखिएको यो लेख नेपालखबरबाट साभार






