काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य क्षेत्रमा अनुसन्धानको महत्त्व विशिष्ट रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको आठौँ शिखर सम्मेलनलाई सोमबार शुभकामना सन्देश पठाउँदै उनले कोभिड महामारीले पनि स्वास्थ्य क्षेत्रमा अनुसन्धानको महत्त्व छ भन्ने विषय उजागर गरेको स्पष्ट पारे ।
यस आधारमा पनि स्वास्थ्य अनुसन्धानको क्षेत्रमा थप क्रियाशील भएर लाग्न नेपालका स्वास्थ्य वैज्ञानिकहरूलाई प्रधानमन्त्री देउवाले आग्रहसमेत गरे । सरकारले पनि गुणस्तरीय स्वास्थ्य अनुसन्धानलाई प्रोत्साहन गर्ने जानकारी गराउँदै उनले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा स्वास्थ्य नीति बनाउने जानकारी दिए ।स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै उनले स्वास्थ्य अनुसन्धानलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
उनले निरोगी नेपाल अभियान सञ्चालन भइरहेको भन्नुहुँदै यस अभियानलाई सबैले साथ दिनुपर्ने बताए । आधुनिक उपचार पद्धतिको विकाससँगै आयुर्वेदिक तथा वैकल्पिक उपचार पद्धतिको समेत प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ । उनले स्वास्थ्य अनुसन्धान सम्मेलनबाट प्राप्त निचोड र सुझावले स्वास्थ्यको नयाँ नीति बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री देउवाको सन्देश परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले वाचन गरेका थिए । आइतबारदेखि सुरु भएको स्वास्थ्य वैज्ञानिकहरूको शिखर सम्मेलनको सोमबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले औपचारिक उद्घाटन गरेका थिए । त्यसक्रममा मुख्यमन्त्री पाण्डेले स्वास्थ्य अनुसन्धानलाई अगाडि बढाउन बागमती प्रदेश तयार रहेको बताउँदै अनुसन्धानका लागि बजेट र कानुनी व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए ।
“अनुसन्धानमा भएको खर्चलाई फजुल मानिन्छ, डाक्टरले होलबडी चेकअप गराएर फजुल खर्च गराए भन्ने सोच बिरामीको रहन्छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “अनुसन्धान नगरी रोग पत्ता लाग्न मुस्किल पर्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले वैज्ञानिकहरूको सम्मेलनले अनुसन्धानका लागि थप सहयोग गर्ने बताए ।
उनले उच्चस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध रहेको बताए । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले समान स्वास्थ्य पहुँच आफ्नो प्राथमिकता रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा.अधानोम टेड्रोसले कोभिडको समयमा नेपालले देखाएको सक्रियताको प्रशंसा गरे । परिषद्का मानार्थ अध्यक्ष मृगेन्द्रराज पाण्डेले काउन्सिल स्थापना गर्दाको सङ्घर्षको चर्चा गरेका थिए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य अनुसन्धान परिषद्सँग सहकार्य गरेर स्वास्थ्य अनुसन्धानमा आफ्नो प्रदेश सहभागी हुन तयार रहेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशङ्कर प्रसादले नेपालको स्वास्थ्य क्षेत्रमा स्रोत साधन, पूर्वाधारको कमी रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।






