काठमाण्डौ । नेपालको अर्थतन्त्र संकटमा परिरहेको छ भन्ने चर्चा चलिरहेकै बेला अर्थमन्त्री जनार्दन शर्माले भने अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थ मन्त्रालयमा आज सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री शर्माले आयात बढेर अर्थतन्त्र दबाबमा आएको भए पनि बाहिर प्रचार गरिएजस्तो सङ्कट नआएको बताएका हुन् ।
नेपालको अर्थबजार ओरालो लाग्यो भन्नेहरुलाई मन्त्रि शर्माले भने,‘अहिलेसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।’ अर्थमन्त्री शर्माले गएको वर्षको तुलनामा आयात ३३ दशमलव नौ प्रतिशत र निर्यात ७२ दशमलव आठ प्रतिशत बढेको भन्दै विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यापार घाटामा चाप पैदा गरेको बताए ।
उनले नागरिक र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न आग्रह पनि गरे । उनले अर्थतन्त्रमा राजनीतिकरण गर्न नहुने भन्दै अहिले अर्थतन्त्रलाई लिएर सुरु भएको राजनीतिले देशलाई घाटा गर्ने बताए । उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । अर्थमन्त्री शर्माले सतर्क भएर जान अर्थ मन्त्रालय लागेको भन्दै सङ्कट टार्नका लागि विभिन्न निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको जानकारी गराए ।






