काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह चुनावपछि देशमा राम्रो दिनको सुरुवात हुने दाबी गरेका छन् । अध्यक्ष ओलीले स्थानीय तह चुनावपछि आफ्नो पार्टी आउने र देशका लागि राम्रो दिनको सुरुवात हुने दाबी गरेका हुन् ।
निर्यात उद्योग व्यवसायी महासङ्घ नेपालले आज सोमबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सङ्घीय संसद्को चुनावपछि भने आफ्नो पार्टी सरकारमा आउने पक्का हो भन्दै त्यसपछि भने देशमा पूरै राम्रो दिन आउने दाबी समेत गरे । ‘स्थानीय तह चुनावपछि राम्रा दिन सुरु हुन्छ । पछिको चुनावबाट झ्याप्पै राम्रा दिन आउँछ ।’ ओलीले भने ।
कार्यक्रममा ओलीले स्वदेशी वस्तुको उत्पादन गरी देशमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरूलाई आग्रह गरेका थिए । उनले अनावश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना वस्तुहरूको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औँल्याए । ओलीले देश रेमिट्यान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने भन्दै आफै आत्मनिर्भर बन्ने सुझाव दिएका थिए ।






