मोरङ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन् । मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर ।’ मोरङको रतुमाईमास्थित दाम्रा भिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप लगाएका छन् । यी दललाई निर्वाचनमा विजयी बनाएर देश बन्छ भन्दा पश्चतापबाहेक केही हात नपर्ने उनले बताए । कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाए । तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ ।
अध्यक्ष लिङ्देनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भए देश बन्छ रु भनेर प्रश्न समेत गरेका थिए । उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए । शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङ्देनले बताए ।
नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाइ छ । नेता लिङ्देनले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताए । जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे । आउँदो वर्ष हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे ।
अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौती समेत दिएका छन् । उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्याउनु देशलाई थप बर बादीको दिशातर्फ धकेल्ने काम हुने बताए । उनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे ।






