काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको मतर अभिमत पैसा र पदले खरिदरबिक्री गर्न सकिँदैन भन्ने मान्यताको आधारमा चुनाव खर्चको सीमा तोकेको बताएका छन् । आज बिहीबार ललितपुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा निर्वाचन सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
राजनीतिक दलहरूले चुनाव खर्च महँगो भयो भनेर भन्ने तर त्यसको सीमा तोक्दा विरोध गर्न नमिल्ने प्रमुख आयुक्त थपलियाले तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामी चुनाव महँगो, भड्किलो भयो भन्छौँ अनि चुनाव खर्चको सीमा तोक्दा किन आपत्ति ? चुनाव खर्च धेरै भए लोकतन्त्र नै खतरामा पर्न सक्छ ।’
एउटा अध्यक्षले तीन लाख रुपैयाँ खर्च गरेर आफ्नो गाउँपालिकाभित्र गएर म उम्मेदवार हुँ, मेरो यो सिद्धान्त, निष्ठा, विचार छ भनेर तोकिएको खर्चमा भन्न सक्दैन भने त्यसका लागि यसमा पुनरावलोकन गर्न सकिन्छ ।’प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरू कत्तिको प्रतिबद्ध छन् भनेर आयोगले हेर्न चाहेको पनि बताए ।
उनले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि आयोगले उनीहरूलाई नै दिएको स्पष्ट पारे ।प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्,‘अब आयोगले कस्तो अनुगमन गर्छ भन्ने होइन । उम्मेदवार र राजनीतिक दलले आफ्नो अनुगमन कस्तो गर्दोरहेछ भनेर चाहिँ आयोगले हेर्छ ।
सुशासन र सदाचारको कुरा गर्ने हाम्रा राजनीतिक दल र उम्मेदवारहरू निर्वाचन आचारसंहिताको पालनामा कत्तिको प्रतिबद्ध् छन भनेर हामीले हेर्ने हो । मैले आचारसंहिता मिचेकै हुँ, कारबाही गरिपाउँ भनेर सिफारिस गर्नु भयो भने त आयोगले तत्काल कारबाही गर्छ । हामीले सिफारिस गर्ने अधिकार राजनीतिक दलहरूलाई नै दिएका छौँ । आफूलाई कारबाही गर्ने सिफारिस आफैँ गर्नुस्, कारबाहीको भागी आफैँ बन्नुस् । तर म फेरि पनि भन्छु– आयोग कारबाही गर्नुपर्छ भन्ने मान्यता नै राख्दैन ।’
यस्तै कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले चुनाव खर्चिलो भए लोकतन्त्र नै खतरामा पर्ने भन्दै त्यसमा मितव्ययिता अपनाउन राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । उज्यालोबाट






