काठमाण्डौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले देशमा आउने प्रत्येक राजनीतिक सङ्कटलाई मोचन गर्न भूमिका खेलेको तर त्यसलाई अन्य दलले स्वीकार गर्न नसकेको बताएका छन् । बिहीबार काठमाण्डौमा आयोजित रिपोर्ट्स क्लबको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय माओबादी केन्द्रप्रति जनताको आकर्षण बढेको पनि दाबी गरे । अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समाधान गर्न गठबन्धनमा छलफल भइरहेको जानकारी दिए । अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजी तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उनले बताए। उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा वृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताए ।
अध्यक्ष प्रचण्डले आउँदो चुनावमा गठबन्धनमा रहेका दलहरू मिलेर जाने बताए । उनको भनाई अनुसार गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनाईएको हो । नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिमा पनि गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै द्विविधा नभएको हुनाले आफुहरु मिलेर जाने उनले बताए ।






