काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० विन्दुमा झरेको छ । आज व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यस्तै दुई सय २८ कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज नारायणी विकास बैंक र युनाइटेड मोदी जलविद्युत् कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेष्डो समृद्ध लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
योपनि अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सय रुपैयाँले बढ्दै ९८ हजार ९०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन अर्थात् बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
उस्तै आज तेजाबी सुनको मूल्य समेत एकसय रुपैयाँले नै बढ्दै ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज बिहीबार पनि तोलामा १० रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी तोलामा १० रुपैयाँले घट्दै एकहजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।






