काठमाण्डौ । नेकपा एमालेले स्थानीय तहमा चुनावी गठबन्धन गर्न जनता समाजबादी पार्टी नेपाल समक्ष प्रस्ताव गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रचार प्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङमार्फत सो प्रस्ताव गरेका हुन् । गुरुङले जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई भेटेर अध्यक्ष ओलीको सो प्रस्ताव सुनाएका थिए ।
चुनावी गठबन्धनका लागि काँग्रेस पार्टीमा विवाद चलिरहेको बेला एमालेले सत्तारुढ गठबन्धनमै रहेको जसपा नेपालसँग चुनावी गठबन्धनका लागि प्रस्ताव अघि सारेको हो । चार दलको गठबन्धनलाई चुनावमा पनि निरन्तरता दिने प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले भनिरहे पनि पार्टीभित्र त्यसमा एकमत हुन सकेको छैन ।
सत्तारुढ गठबन्धनमा भएको प्रारम्भिक छलफलमा नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले जितेका सबै ठाउँमा आफूलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । उता काँग्रेसले सबै महानगरपालिका लिने, अन्यमा भागबण्डा गर्ने भनेको छ । यो खिचातानीबीच सत्ता पक्षको चुनावी गठबन्धन नबनिरहेको बेला एमालेले त्यसको फाइदा लिन चाहेको हो ।






