काठमाण्डौ । संघीय संसद अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुबै पद रिक्त हुन पुगेका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजिनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष सशीकला दाहालको चार वर्षे पदावधि २० फागुनमा स्वतः सकिएकाले दुबै पद रिक्त हुन पुगेका हुन् ।
‘यौ न प्र’कर’ण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएपछि तुम्वाहाम्फेले सभामुख हुने इच्छा प्रकट गरे पनि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सत्ता गठबन्धनमा देखा परेको असमञ्जस्यका कारण सो पद प्राप्त गर्न सकेकी थिइनन् । एउटै पार्टीको सभामुख र उपसभामुख हुन नसक्ने संवैधानिक व्यवस्थाका कारणले समेत सभामुखमा इच्छुक तुम्वाहाम्फेलाई अन्ततः संघीयमन्त्री बनाउने सर्तमा राजीनामा दिन लगाइएको थियो ।
दुई वर्ष अघि नै उनले सो राजीनामा दिएको भए पनि संघीय संसदका राजनीतिक दलबीच सहमति हुन नसक्द सो पद रिक्त हुँदै आएको थियो । उपसभामुख पद दुई वर्षदेखि रिक्त भइरहेका बेला आजबाट राष्ट्रियसभा उपाध्यक्षको पद पनि रिक्त हुन लागेको हो । राष्ट्रियसभाका नवनिर्वाचित सांसदले गोलाप्रथामार्फत आफ्नो कार्यकाल चयन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण ४ असार २०७५ मा भएको ‘निर्वाचन प्रक्रिया’ को क्रममा उपाध्यक्ष दाहालले चार वर्षे कार्यकाल चयन गरेकी थिइन् ।
उपाध्यक्ष दाहालले चिठ्ठामार्फत् चयन गरेको कार्यकाल आजै अर्थात् २० फागुनमा सकिने भएपछि सो पद स्वतः रिक्त हुन लागेको हो । उनीसँगै आजैबाट २० सांसदको पद पनि स्वतः रिक्त हुँदैछ । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो ।
आजबाट विदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् । कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ ।
नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनित सांसद रामनारायण विडारी पनि राष्ट्रियसभावाट आजै बिदा हुनेछन् । २०७५ असार ४ मा भएको गोलाप्रथा अनुसार आजवाट रिक्त हुने सांसदले चार वर्षे कार्यकालका चिठ्ठा समाएका थिए । जसअनुसार उनीहरुको कार्यकाल ४ वर्ष मात्रै हुन पुगेको हो ।







