काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् । मध्यपुरथिमि–४ बालकुमारीमा बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आह्वान गरेका हुन् ।
‘म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाइ पहिलोपटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ’, महामन्त्री शर्माले भनें, ‘जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले कांग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, मतदान गर्नुस् ।’
पाँच वर्षका लागि चुनाव जितेको नेकपाले सरकार चलाउँदा केपी ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उहाँले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरे । जनताले स्थितर र बलियो सरकार चाहिरहेको बेलामा एमालेलाई फेरि बहुमत दिए पाँच वर्ष सरकार चलाउन सक्छ भन्ने विश्वास अब नभएको उनले बताए ।
नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो । उनले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा ढङ्ग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्दै कांग्रेसले कुनै पनि विषयमा राष्ट्रघात नगर्ने बताए ।
एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेकार हो भन्दै उनले कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताए । कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै उनले एमसीसीमा सैन्य रणनीति नरहेको प्रष्ट पारे । एमाले अध्यक्ष ओली आफैँले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्मा दर्ता गराउनु भएको हो भन्दै उनले संसद्मा नाराबाजी गरिरहँदा कुनै पनि दिन एमसिसी मूर्दावाद नभन्नु, एमसिसीका बारेमा बोल्दै नबोल्नु एमालेको पनि एमसिसीमा समर्थन थियो भन्ने पुष्टि हुने भनाइ राखेका थिए ।
चुनाव अगाडि एमसीसी राष्ट्रघात हुने र चुनावपछि राष्ट्रहित हुन्छ भन्ने पक्षमा कांग्रेस नरहेको भन्दै महामन्त्री शर्माले भने, ‘कांग्रेसलाई चुनावपछि मात्रै एमसिसी पास गरौँ भन्ने प्रस्ताव आएकै हो, ए बाबा, अहिले पास गर्दा राष्ट्रघाती हुने, चुनावपछि गर्दा राष्ट्रघाती नहुने यो कस्तो कुरा हो ? राष्ट्रघात हो भने त चुनावअघि गरे पनि पछि गरे पनि राष्ट्रघात नै हो । त्यसैले कांग्रेसले राष्ट्रघात हुने काम गर्दैन ।’ रासस






