काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का वरिष्ठ नेता झलनाथ खनालले शर्त राखेर दिइएको सहयोग स्वीकार्य नहुने बताएका छन् । आइतबार अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) माथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
अमेरिकासँग ७० वर्षदेखि सरसहयोग गर्दै आएको उल्लेख गर्दै उनले एमसीसी सहयोग शर्तशर्तमा जेलिएको भन्दै यस्तो बताएका हुन् । सहयोग लिने तर शर्त राखेको एक पैसा पनि नचाहिने उनको भनाइ छ । ‘अमेरिकासँग ७० वर्षदेखि सरसहयोग गर्दै आएका छौँ । हामी अमेरिकाले दिएको सहयोग लिन्छौँ ।
नेपालको सार्वभौमसत्ता र स्वाभिमानलाई सम्मान गरेर देशको समृद्धिका निम्ति अगाडि बढ्ने सहयोगलाई हामी स्वागत गछौँ’
खनालले भने, ‘तर, एमसीसी सम्झौता शर्तले बेरिएको छ । हामीलाई ती शर्त स्वीकार्य छैन । हामी सहयोग लिन्छौँ । तर, शर्त राखेको सहयोग हामीलाई एक पैसा पनि चाहिँदैन ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसीसीसँग भएका सम्पूर्ण दस्तावेज सदनमा वितरण गर्न आग्रह गरेका छन् । सांसद भेडाबाख्रा नभएको भन्दै उनले देशका लागि हुने सम्झौता सबैले हेर्न पाउनुपर्ने बताए ।
‘सांसदहरु तपाईं हामी भेडाबाख्रा होइनौँ । हामीले देशका लागि हुन लागेको सम्झौता हेर्न पाउनुपर्छ । सभामुख महोदय, म तपाईंलाई पनि आग्रह गर्दछु’, खनालले भने, ‘एमसीसीसँग सम्बन्धित सम्पूर्ण दस्तावेज यो सदनले हेर्न पाउनुपर्छ ।’ नेता खनालले आफ्नो पालमा एमसीसी सुरु भएको भन्दै हल्ला चलाएकोप्रति आपत्ति जनाए ।
खनालले सदमा हुने व्याख्यात्मक टिप्पणी अमेरिका र एमसीसीले स्वीकार गर्ने ग्यारेन्टी गर्न सरकारसँग माग गर्नुभएको छ । सम्झौता अगाडि बढाउँदा सुरक्षा, सामरिक महत्वलाई सरकारले गहन ढङ्गले हेर्नुपर्ने उनको भनाइ छ । परियोजना कार्यान्वयनमा नेपाल प्रवेश गर्ने विदेशी नागरिकमाथि निगरानी गर्न नसक्ने व्यवस्था स्वीकार्य नहुने उनले बताए ।






