काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा २५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९९ हजार रुपैयाँमा पुगेको छ । भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९६ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । नेपालको सुनचाँदी बजारमा अन्तरराष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीका मूल्य बढे अनुसारनै आज नेपालको बजारमूल्यमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।






