काठमाण्डौ । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उहाँकै निवासमै पुगेर एमसीसी पारित गर्न आग्रह गरेका थिए ।
तर, जवाफमा प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सत्ता गठबन्धन जोगाउन एमसीसी टेबल गर्न सहमति भए पनि पारित गर्न आफ्नो पार्टीको समर्थन नहुने विषय अध्यक्षले स्पष्टसँग राखेको बताए । उनका अनुसार प्रचण्डले एमसीसी सम्झौतालाई संसदीय समितिमा पठाउनु पर्नेमा जोड दिए ।
तर, जवाफमा प्रधानमन्त्री देउवाले संसद्मै छलफल गरेर छिट्टै पारित गर्नुपर्नेमा धारणा राखेको थिए । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन एकीकृत समाजवादी पार्टीका मन्त्री र सांसदहरूसँग समेत छुट्टाछुट्टै छलफल थाल्नु भएको छ । एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको एकीकृत समाजबादीभित्र पनि दुई धार देखिएको छ । सत्तारूढ जनता समाजवादीले भने एमसीसीकै पक्षमा मतदान गर्ने तयारी गरेको छ । जसपाले एमसीसीको विषयलाई विरोध जनाएको छैन ।
यसैबीच, बुधबार नै गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादी पार्टीलाई एमसीसीको पक्षमा उभिन दबाब दिन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा पुगेर भेटवार्ता गरेका थिए । मंगलबार साँझ मात्र प्रधानमन्त्री देउवा र एमालेका शीर्ष नेताहरूबीच वालुवाटारमा झण्डै दुई घण्टा भेटवार्ता भएको थियो । प्रधानमन्त्री देउवा प्रतिपक्ष दलसँगको संवाद बढाएर माओवादी र एकीकृत समाजबादीलाई एमसीसीको पक्षमा उभिने वातावरण निर्माण गर्ने प्रयासमा देखिएका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नै एमसीसीलाई संसद्मा टेबल गर्ने गरी प्रस्ताव दर्ता गराएको हो । ओली नेतृत्वको सरकारले दर्ता गराएको प्रस्ताव ३२ महिनापछि प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले संसद्मा टेबल गराउन सफल भएका छन । अहिलेकै अवस्थामा एमसीसी सामान्य बहुमतबाट पारित हुने अवस्था छ । तर, प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको साथै प्रतिपक्ष दललाई साथ लिएर अनुमोदन गराउन आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।
टेबल हुँदैमा पास हुँदैनः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा एमसीसी टेबल हुँदैमा पास नहुने बताउनुभएको छ । उनले संसद्मा टेबल हुँदैमा पास हुन्छ भन्ने भ्रममा पर्न आवश्यक नभएको बताए ।
बुधबारबाट काठमाण्डौमा शुरू भएको माओबादी केन्द्र वागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन एमसीसी टेबल गर्न सहमत भएको बताए । उनले एमसीसी टेबल गर्दैमा केही नबिग्रिने जिकिर गर्दै भन्नुभयो–‘एमसीसी टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर टेबल गर्न सहमति जनाएका हौं ।’
आजबाट एमसीसी संसद्मा छलफल हुने
संसद्मा टेबल भएको एमसीसी सम्झौता आजबाट छलफलका लागि प्रस्तुत हुने भएको छ । संसद् सचिवालयले सरकारले एमसीसीमाथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहयोगता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद्का महासचिव डा. भरतराज गौतमले बताए । यो समाचारनेपाल समाचारपत्र दैनिकमा छ ।






