काठमाण्डौ । प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भू–राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले समग्र सुरक्षा क्षेत्रमा असर पर्ने बताएका छन् । यसका लागि सचेत रहन उहाँले निर्देशनसमेत दिएका छन् ।
महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित दुईदिने कमाण्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको सानो परिर्वतनले देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा असर पर्नसक्नेतर्फ ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले सचेत हुन निर्देशन दिएका हुन् ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल सञ्चालनमार्फत भविष्यमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञ उत्पादन हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ। मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाण्डौ–तराई–मधेस द्रुतमार्गलगायतका विभिन्न राष्ट्रिय सडक करिडोरको निर्माणमा सेनाले पु¥याएको योगदानको प्रशंसा गरे ।
मुलुकका सडक पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न सेना सक्षम रहेको उल्लेख गर्दै उहाँले सेनाको पहलकदमीमा स्थापना हुन लागेका आयोजनामा आवश्यक स्रोतसाधनको अभाव हुन नदिने दृढता व्यक्त गरे । उनले ‘बङ्करदेखि ब्यारेक’ कार्यक्रम यथाशीघ्र सम्पन्न गरी सेनाका सकलदर्जाका लागि उचित कार्य वातावरण सुनिश्चित गर्नसमेत सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री एवं रक्षामन्त्री देउवाले महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा स्वदेश तथ विदेशमा कार्यरत सेनाका सकलदर्जामा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेश अक्षरशः पालना गर्न कटिबद्ध रहेको बताए ।
बैठकमा विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुख तथा कमाण्ड सेनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गर्नेछन् । शुभारम्भ कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, पिएसओज रथीवृन्द, सबै कमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्रका बाहिनी अड्डाका बाहिनीपतिको सहभागिता छ । रासस






