काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारीले विराटनगरमा एमसीसीबारे सडकमै जनमतसंग्रह गरेको छ । विराटनगरको ट्राफिक चौकमा आयोजित जनमतसंग्रहमा २ सय २५ जनाले मतदान गरेका थिए ।
स्थानीयलाई ‘एमसीसीबारे सडक जनमत संग्रह’ मतपत लेखिएको मतपत्रमा यथास्थितिमा एमसीसी पास गर्ने एउटा कोठा र पास नगर्ने भन्ने अर्को कोठा राखेका मतपत्र दिइएको थियो । मतदानमा सहभागीहरुमध्ये १६९ जनाले यथास्थितिमा एमसीसी पास नगर्ने मत जाहेर गरेको निर्वाचन अधिकृत पशुपति नेपालले बताए ।
यस्तै यथास्थितिमा एमसीसी पास गर्नुपर्छ भन्ने २७ जनाले मत जाहेर गरेका छन् । २९ मत बदर भएको नेपालले बताए । एमसीसी पास गर्ने कि फेल गर्ने भन्ने विषयमा केन्द्रीय राजनीति र संघीय संसदमा बहस भइरहेको बेला क्रान्तिकारी विद्यार्थीहरूले सडकमै जनमत संग्रह गरेका हुन् ।
यथास्थितिमा एमसीसी पास नगर्न राजनीतिक दल र सरकारलाई दबाब दिने उद्देश्यले जनमतसंग्रह गरिएको विद्यार्थी नेता जिसस न्यौपानेले बताए ।






