ललितपुर । कोरोना महामारीबाट संकटमा परेका व्यवसायीलाई बैंकले दुःख दिएको भन्दै बैंकको ज्यादतीविरुद्ध आफूहरू सडकमा उत्रिने उद्यमी व्यवसायीहरूले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघ, राजस्व समितिले आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव संकलन गर्न ललितपुरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन् ।
संकटका बेलाको समय पारेर बैंकले उद्योगी व्यवसायीलाई जबरजस्ती ऋण तिर्न लगाउने, कालो सूचीमा राख्ने लगायत ज्यादती गरेको भन्दै त्यसका विरुद्ध सडकमा उत्रिन समेत आग्रह गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनसमेत नमानेर उद्योग व्यवसायीलाई दुःख दिएको बताए ।
‘बैंकले यसरी नै दुःख दिँदै आएकोले आन्दोलन गर्नुपर्ने समय आएको छ । यसका लागि कडा आन्दोलन गर्न तयार रहनुपर्दछ’ उपाध्यक्ष श्रेष्ठले भने । कोरोना महामारीका कारण कतिपय उद्योगी व्यवसायीहरू पलायन भएको तथा पलायन हुने अवस्थामा बैंकले नीति विपरीत ऋणीहरूलाई कालो सूचीमा राखेकोमा उपाध्यक्ष श्रेष्ठले आ क्रो श पोखे । एकतर्फी ढंगले कालो सूचीमा राखिएको छ ।
उनले भने,‘त्यसका साथै कोरोनापछि अलिअलि गर्दै बजार चलायमान हुनेबित्तिकै फोन गरेर ऋणको किस्ता तिर्न दबाब दिँदै आएको छ । बैंकहरूले भने कोरोनाका कारण अति प्रभावित क्षेत्रमा परेका होटल रेस्टुरेन्ट, पर्यटन, यातायात, वैदेशिक रोजगार लगायतका क्षेत्रमा प्रवाह भएको कर्जा उठाउन पनि बैंकले त्यस्तै दबाब दिइरहेको व्यवसायीको गुनासो छ ।
सो अवसरमा अर्थविद् चन्द्रमणि अधिकारीले करको दर बढाउनेभन्दा पनि उद्यमी व्यवसायीहरूको आवश्यकता पूर्ति र क्षमता बढाउने हिसाबले बजेट ल्याउनुपर्ने बताउँदै उद्यमी व्यवसायीहरूले आफूनो आफ्नो आवश्यकता, अपेक्षा सरकारसमक्ष स्पष्ट रूपमा राख्नुपर्नेमा जोड दिए । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले बजेट निर्माणमा समयमै सरोकार देखाउनु राम्रो रहेको बताउँदै विगतको बजेटले ल्याएको नीतिको कार्यान्वयनको समीक्षासमेत गरी सरकारसमक्ष तथ्य र तर्कमा आधारित रहेर आफ्नो माग तेस्र्याउन उद्यमी व्यवसायीहरूलाई आग्रह गरे ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले व्यवसायीहरूलाई काम गरेर खाने वातावरण मात्र बनाइदिनुपर्नेमा जोड दिँदै त्यसका लागि करको दर बढाउने भन्दा करको दायरा बढाउन माग गरे । बैंकका विधि र कार्यविधि अझ व्यवस्थित गरी व्यवसायीलाई उकास्न सहयोग हुनुपर्छ । तर, बैंकका गतिविधिहरू व्यवसायीको मनोबल कमजोर बनाउने खालका छन् ।’
अध्यक्ष न्याछ्योंले भने,‘अप्रत्याशित राजनीतिक उथलपुथल, प्रणालीगत भ्रष्टाचारले अनेक समस्याहरू ल्याइरहेको छ । सरकारले व्यवसायीलाई निरुत्साहन गर्ने हैन, प्रोत्साहन गर्नुपर्छ ।’ सो अवसरमा संघका ललितपुर महानगरपालिका राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापा, संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, महासचिव रूपकमान महर्जन र समितिका संयोजक पूर्ण महर्जनलगायतले सरकारले बजेट कार्यान्वयनको महत्वपूर्ण सरोकारवालाको रूपमा रहेको निजी क्षेत्रको माग र चासोप्रति गम्भीर हुनुपर्नेमा जोड दिँदै आ–आफ्नो धारणा राखे । यो समाचार आजको नेपाल समाचार पत्रमा छ ।






