काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । उनी बिहीबार राती ८ः५० मा श्रीमती आरजु देउवालाई लिएर ओली निवास बालकोट गएका थिए । अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार उक्त भेटमा पछिल्लो राजनीति विषयमा छलफल गरिएको थियो ।
अब कसरी जाने भन्ने विषयमा एमाले तत्काल प्रतिक्रियाविहीन भएको छ । एमाले तत्काल पर्ख र हेरको नीतिमा रहेको छ । आज शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको अवस्थामा त्यसमा कस्तो छलफल हुन्छ र कस्तो प्रतिक्रिया आउँछ भनेर त्यसलाई मध्यनजर गर्ने एमालेको नीति छ ।
शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको र त्यसमा कस्तो छलफल हुन्छ, कस्तो प्रतिक्रिया आउँछ एमालेले त्यसलाई मध्यनजर गर्ने अवस्था रहेको ओलीका स्वकीय सचिव बज्राचार्यले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
हिजो बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि शुक्रबार १० बजे पुनः बैठक बस्ने गरी बैठक विना निष्कर्ष सकिएको थियो ।
बैठकपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । सो अवसरमा वर्तमान राजनीतिक अवस्था र अमेरिकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजूसहित बिहीबार राति ८ः ५० बजे बालकोट पुगेका थिए ।






