काठमाण्डौ । सत्ता गठबन्धनको बैठकमा प्रतिनिधि सभाको बैठक विना अवरोध सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा छलफल भएको र त्यो सकारात्मक रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए । आज बिहीबारको बैठक सकिएको र भोलि शुक्रबार फेरि बस्ने जानकारी दिँदै उनले भने, ‘सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्ने गरी आजको बैठक समाप्त भएको छ ।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेको मन्त्री कार्कीले जानकारी दिए । प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्बाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि फेरि बस्ने भएको छ ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा यो सम्झौता हिजो बुधवार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा भोलिसम्मका लागि स्थगित गरिएको थियो । भोलिको बैठकमा एमसीसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उनको अभिमत थियो ।






