तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि फाइदा नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज बिहीबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै चुनाव लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए ।
‘कांग्रेसले एक्लै चुनाव लड्छौँ भनेर मात्र हुँदैन, कम्युनिस्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन’, उनले भने,‘एक्लै चुनाव लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।’ कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उनले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।
‘समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’, उनले भने । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले देशभर भएका विकासको काम कांग्रेसले गरेको बताउँदै जनतालाई यसबारेमा बुझाउन आवश्यक रहेको बताए ।
भएका कम्जोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले कांग्रेसभित्र हातेमालो र हार्दिकता सिर्जना गर्नुपर्नेमा जोड दिए । चुनाव जित्ने नाममा गठबन्धन गर्न आवश्यक नरहेको भन्दै उनले कांग्रेसले एक्लै चुनाव जित्ने दाबी गरे ।






