काठमाण्डौ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले जनताले न्याय पाउने कुरालाई रोक्न नदिन संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको प्रारम्भिक टिप्पणी गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतमा देखिएको अवरोध प्रक्रियालाई सररु गराउने विशेष व्यवस्था पनि भएकाले त्यहीअनुसार पार्टीका सांसदहरूसहितले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरिएको उनले बताए ।
यद्यपि त्यस विषयमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा विस्तृत छलफल नभएको उनको भनाइ छ । बैठकमा यस विषयमा पार्टीका सांसदहरूले जानकारी गराएको तर विस्तृत छलफल भने आजको बैठकमा नभएको उनले जानकारी दिए । प्रवक्ता महतले भने, ‘महाअभियोगको विषयमा पर्सि हामी प्रस्तावसहित निर्णयमा पुग्छौँ । जनताले न्याय पाउने कुरामा अवरोध हुनुहुँदैन भनेर प्रधानन्यायाधीशविरुद्ध यो प्रस्ताव गएको भन्ने जानकारी आएको छ । त्यस विषयमा अरू थप छलफल पार्टीभित्र भइसकेको छैन । यसबारे फेरि अर्को बैठकमा होला ।’
हिजो बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय पर्सि मङ्गलबार फागुन ३ गते ३ बजे बस्ने बैठकले सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ । प्रवक्ता महतले एमसीसी संसदमा निर्णयार्थ पेस गर्ने र त्यसका लागि जनमत तयार पार्न देशव्यापी अभियान सञ्चालन गर्ने निष्कर्षमा पनि पार्टी पुगेको बताए । उनले सो सम्झौता संसदबाट पारित गर्न पार्टीका सबै नेताहरू एकमत रहेको पनि बताए । प्रवक्ता महतले एमसीसी संसदबाट पारित गराउन आफ्नो पार्टीले पहल गर्ने र त्यसका लागि आवश्यक छलफल पार्टीको संसदीय दलमा पनि गर्ने निर्णय गरिएको बताए ।






