वीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गराउन लागि परेका वेला सत्ता साझेदार दलका अर्का नेता माधव कुमार नेपालले एमसीसी पास गर्न नसकिने बताएका छन् । समाजबादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले एमसीसी पास नसकिने बताएका हुन् ।
‘एमसीसीलाई आँखा चिम्लेर पास गर्न सकिदैन ।’ एकिकृत समाजबादी पार्टीका अध्यक्ष समेत नेता नेपालले भने ‘अब जनतालाई स्पष्ट नपारी यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न सकिन्न ।’ सत्ता साझेदार दल र जनमतलाई ‘क्लियरिफिकेशन’ हुन जरुरी भयो उनले तर्क गरे ।
एमसिसीका सन्दर्भमा विभिन्न सात बुँदामा स्पष्ट हुन जरुरी भएको भन्दै उनले सबै बुँदा एक–एक गरी उल्लेख गरे । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रष्ट हुनु पर्ने भन्दै पेस गरेको बुँदा यस्तो छ,,,,,१) एमसिसी अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन ? सैन्य संलग्नता छ कि छैन ? २) एमसिसी इन्डोप्यासेफिक रणनीतिको अंग हो कि होइन ?३) निर्माणको काममा चाहिने श्रमशक्तिमा योग्यता क्षमता अनुसार नेपाली प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?
४) ट्रान्समिसन लाइन तलको भूभाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ कि रहँदैन । ५) एमसीसीसँग जोडिएको कानूनको सन्र्भमा प्रष्ट धारणा आउनुपर्ने । नयाँ–नयाँ कानून बनाउँदै आफूखुसी नभई नेपालको हित हुन सक्छ कि सक्दैन ? ६) एमसिसिको अडिटिङ गर्ने हक नेपालको अडिटर जनरलले प्राप्त गर्छ कि गर्दैन ? ७) त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन ?
नेता नेपालले एमसिसीलाई फिर्ता पठाउनेभन्दा पनि ‘सम्झौता मिति पर सारे राम्रो हुनेमा जोड दिए । बाहिर अनेक खालका कुरा आएकोले अब यसका ’दयगतमा मसिनो गरी अध्ययन नगरी यतिकै अगाडी बढाउन नसकिने उनको भनाई थियो ।






