काठमाण्डौ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदद्वारा पारित गर्नुपर्ने विषयमा नेताहरूमा सहमति भएको छ । यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेसअघि बढ्ने भएको छ । बिहीबार भएको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका डा। रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामाग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले बताए । ‘एमसीसी विद्युत् र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा। रामशरण महतले लामो विवरण राख्नुभयो । उहाँले भन्नुभयो कि यो हामीले लिनुपर्छ । त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने ।
बैठकमा डा. कोइरालाले गठबन्धनसहित काँग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन् । भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ । योपनि नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सभामुखले रोक्न नमिल्ने जिकिर गरेका छन् ।उनले सभमुखको क्षेत्राधिकार संविधानमा तोकिएकाले रोक्न नमिल्ने जिकिर गरेका हुन् ।
‘एमसीसी सभामुखले रोक्न मिल्दैन,’ आज काँग्रेस कार्यसमिति बैठकपछि पत्रकारको प्रश्नमा महतले भने,‘उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ ।’ सभामुख एमसीसी टेबुल गर्न सकारात्मक नभइरहँदा सत्ताको नेतृत्व गरिरहेको काँग्रेसका प्रवक्ता महतको भनाई आएको हो । एमसीसी सरकारले टेबुल गर्ने र बहुमतले पारित हुने दाबी समेत गरे । संसदको अबको बैठकमा सरकारले एमसीसी टेबल गर्ने पार्टीको निष्कर्ष समेत सुनाए ।
एमसीसी पारित गर्न गठबन्धनको नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सकारात्मक रहेको बताए । नेपालले पनि एमसीसी पारित गर्छु भनेको बताए । एमसीसी बहुमतले पारित हुने र भ्रम चिरिने उनको भनाई थियो ।






