काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो स्थानीय तहको चुनावमा पार्टीको सबै शक्ति परिचालन गर्ने भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले आउँदो फागुनभित्र स्थानीय तह चुनावका लागि उम्मेदवार छनोट गर्ने निर्णय पार्टीले गरेको छ ।
बैठकमा महामन्त्री तथा स्थानीय तह चुनाव परिचालन समितिका संयोजक भुवन पाठकले निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । जसअनुसार राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उठाउने र फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ ।
यस्तै राप्रपाले राज संस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना, सङ्घीयताको खारेजी तथा सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणामा पार्टी अविचलित रहेको जनाएको छ । पार्टीलाई अनुशासित बनाउन र पार्टी हितविरुद्धका कामलाई निरुत्साहित गर्न नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरिएको छ ।
यस्तै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ मा बस्ने भएको छ । पूर्वअध्यक्ष कमल थापाले राप्रपा छोडेपछि पहिलो पटक पदाधिकारी बैठक बसेको हो । बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीका साथै सबै पदाधिकारी उपस्थित थिए । यस्तो छ प्रेस विज्ञप्ति






