काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । आज बुधवारको कुराकानीमा अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आउँदो जीवनमा केही फरक नपर्ने बताउनुभएको हो ।
राप्रपा अझै दृढ, सङ्गठित र सशक्त रूपले अगाडि बढ्ने उनले भने । अध्यक्ष लिङ्देनले भने,‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भए पनि हाम्रो आउँदो जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ सङ्गठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ।’
उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्तालाई आह्वान गरे । पार्टीलाई शक्तिमा रूपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले त्यस प्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे ।
उनले भने,‘हामीले सबै साथीहरूलाई आह्वान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरू गर्नुहुने छैन ।’ अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गरेका छन् । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्यसमेत नरहेको भन्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे ।
निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले त्यो घटनालाई अनपेक्षित र अप्रत्याशित रूपमा लिएको उल्लेख गरे । छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भए पनि थापाले पार्टी छोडेको उनले स्पष्ट पारे ।
निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय उनको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताए । निवर्तमान अध्यक्ष थापाले हिजो मङ्गलवार पार्टी परित्याग गरेको घोषणा गरेका थिए । यो समाचार उज्यालोमा छ ।






