काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले राप्रपा पर्टी त्याग गरेको घोषणा गरेका छन् । उनले पनि अब नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका छन् । स्थानीय चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब नयाँ पार्टी दर्ता गरेर चुनावमा भाग लिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ ।
यस्तै अघिल्लो चुनावमा नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका पूर्वमन्त्री हृदयेश त्रिपाठी नयाँ दल दर्ता गर्ने तयारीमा छन् । मंगलबार यसबारे त्रिपाठीले निर्वाचन आयोगमा पुगेर परामर्शसमेत गरेका छन् । निर्वाचन आयोगले संविधानको धारा २६९ अनुसार दल दर्ता गर्ने गर्दछ ।
त्यसरी दर्ता भएर आयोगको सूचीमा कायम रहेको दल निर्वाचन प्रयोजनका लागि धारा २ सय ७१ अनुसार फेरि आयोगमा दर्ता हुनुपर्ने प्रावधान छ । स्थानीय चुनावको मिति घोषणा भइसकेको अवस्थामा अहिले आयोगले धारा २ सय ७१ अनुसार दल दर्ताको आह्वान गर्दै सूचना प्रकाशित गर्ने तयारी गरिरहेको छ ।
आयोगमा हालसम्म १०५ वटा दल दर्ता छन् । चुनावको मिति तय भइसकेपछि खुल्ने दलले निर्वाचनमा संस्थागत रुपमा सहभागिता जनाउन सक्छ कि सक्दैन भन्ने प्रश्नमा आयोग भन्छ,‘कुनै पनि समय पार्टी दर्ता गर्दिनँ भन्न पाइँदैन । यो आयोगको रेगुलर काम हो ।’
अयोगका अनुसार कमल थापा र हृदयेश त्रिपाठीले खोल्ने दुबै पार्टीले निर्वाचन आयोगद्वारा धारा २ सय ७१ अनुसारको सूचना प्रकाशित हुनुपूर्व नै धारा २६९ अनुसार दर्ता भएर प्रमाणपत्र लिएको अवस्थामा फेरि चुनावी प्रयोजनका लागि २७१ दर्ता भएर स्थानीय चुनावमा भाग लिन पाउँछन् ।






